काठमाडौं । २०७२ साल वैशाख १२ गते गएको भूकम्पले ३१ जिल्लाका ऐतिहासिक राष्ट्रिय साँस्कृतिक सम्पदाहरुमा क्षति पुर्याएको थियो । भूकम्प गएको ३ वर्ष बितिसक्दा पनि क्षति भएका ८९१ मध्ये अहिलेसम्म ३८० सम्पदा मात्र पुनर्निर्माण भएका छन् ।
भूकम्पबाट प्रभावित १४ जिल्लाका ७५३ ओटा पूर्णरुपमा र १७ जिल्लाका १३८ ओटा सम्पदा आंशिक क्षति भएका थिए । यीमध्ये हालसम्म पुरातत्त्व विभागबाट तीन सय, पशुपति विकास समितिबाट ३५ र अन्य सङ्घसंस्था एवम् वैदेशिक लगानीबाट ४५ ओटा गरी ३८० सम्पदा पुर्निर्माण भएको पुरातत्त्व विभागले जनाएको छ ।
नेपाल सरकारले भूकम्पबाट क्षति भएका राष्ट्रिय सम्पदा पुनर्निर्माणका लागि भूकम्पपछि २ अर्ब १ करोड रकम छुट्याएको थियो । सोही रकममध्ये २०७२/०७३, ०७३/०७४ र ०७४/०७५ मा १ अर्ब ३७ करोड रकमबराबरको काम भएको र अघिल्लो आव २०७५/०७६ असार मसान्तसम्म अनुमानित १ अर्ब रुपैयाँको काम भई खर्च निकासा भएको छ ।
यसमा कुल बजेटको ८० प्रतिशत खर्च भएको र यो रकम नेपाल सरकारबाट मात्र प्राप्त भएको पुरातत्त्व विभागका लेखापाल जयबहादुर कुँवरले जानकारी दिए । अन्य वैदेशिक अनुदान दिन्छु भने पनि अहिलेसम्म नदिएको लेखापाल कुँवरले बताए ।
‘भूकम्पपछि सरकारले ५ देखि ७ वर्षभित्र सम्पदा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो । लक्ष्यअनुसार काम भइरहेको छ,’ विभागका प्रमुख पुरातत्त्व अधिकृत डा. सुरेससुरस श्रेष्ठले भने, ‘अन्य घर पुनर्निर्माण गरेजस्तो मठ, मन्दिरजस्ता राष्ट्रिय ऐतिहासिक सम्पदा निर्माण गर्न सजिलो हुँदैन ।’
हतारले काम नगरी पहिलेको संरचनामा नै बनाउनु पर्ने भएकाले समय लागेको प्रमुख पुरातत्त्व अधिकृत डा श्रेष्ठको भनाइ थियो । उनका अनुसार पुनर्निर्माण भइरहेका सम्पदाको प्राविधिक र अन्य कामको अनुगमन गर्ने काम विभागले गरिरहेको छ ।
अहिलेसम्म बढीजसो विश्व सम्पदा सूचीमा सूचीकृत स्थलभित्रको मात्र ६० प्रतिशत काम भएको छ । जसमा हनुमान ढोकाभित्रका काष्ठमण्डपबाहेक अन्य मन्दिरहरु बनिसकेका छन् । पशुपति क्षेत्रभित्रका १४ ओटा मन्दिर, स्वयम्भुको एउटाबाहेक सबै, पाटनका पनि लगभग सबैको निर्माण सकिन लागेको र भक्तपुरका पनि आठ ओटाभन्दा बढी मन्दिर बनिसकेका विभागले बताएको छ ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विश्व सम्पदास्थलका सबै संरचना एक वर्षभित्र सम्पन्न गरी तिनीहरुको संरक्षण, सुरक्षा र सौन्दर्य बनाई पर्यटन प्रवद्धर्नमा जोड दिने प्रमुख पुरातत्त्व अधिकृत डा श्रेष्ठले बताए ।