काठमाडौं । नेपाल राष्ट्र बैङ्कले ४५ लाख ९३ हजार ८१७ कारोबारमा निगरानी बढाएको छ । बैङ्क तथा वित्तीय संस्थाबाट एक दिनमा १० लाख रुपैयाँ नगद कारोबार गर्न पाइने व्यवस्था छ । सोभन्दा बढी भएपछि राष्ट्र बैङ्कले त्यस्ता कारोबारमाथि निगरानी बढाएको हो ।
राष्ट्र बैङ्कअन्तर्गतको वित्तीय जानकारी एकाई (एफआईयू)ले आर्थिक वर्ष २०७४/७५ मा ४६ लाखको हाराहारीका वित्तीय कारोबार निगरानीमा रहेको देखाएको छ । अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा ४७ लाख १३ हजार ५७० कारोबार राष्ट्र बैङ्कको निगरानीमा थिए ।
बैङ्क तथा वित्तीय संस्थाहरुले सीमाभन्दा बढी कारोबार गर्नेबित्तिकै त्यसको जानकारी राष्ट्र बैङ्कमा पठाउने गर्छ । सोही जानकारीका आधारमा उसले कारोबारको निगरानी गर्छ ।
जसमा बैङ्क तथा वित्तीय संस्थाहरुका मात्रै ४४ लाख ५२ हजार ५८५ कारोबार राष्ट्र बैङ्कको निगरानीमा छन् । अघिल्लो वर्ष बैङ्क तथा वित्तीय संस्थाका त्यस्तो कारोबार ४५ लाख ६४ हजार ४१३ छन् ।
अघिल्लो आवको तुलनामा आर्थिक वर्ष २०७४/०७५ मा राष्ट्र बैङ्कको निगरानीमा रहेका काराबार घटे पनि त्यसभन्दा अघिल्ला वर्षहरुमा सीमाभन्दा बढी कारोबार गर्नेको सङ्ख्या बढेको राष्ट्र बैङ्कले जनाएको छ ।
राष्ट्र बैङ्क वित्तीय जानकारी एकाइ स्रोतका अनुसार सरकारी निकायका ९ हजार ५९६ कारोबार राष्ट्र बैङ्कको निगरानीमा छन् । त्यसैगरी, बिमा कम्पनीका ८९ हजार ९६६, धितोपत्र कम्पनीका ३४ हजार ७८३ र अन्य कम्पनीका ६ हजार ८८७ कारोबार निगरानीमा रहेको एकाइ स्रोतले जनाएको छ ।
एकाइका अनुसार तोकिएको सीमाभन्दा बढी पटक पटक कारोबार भयो भने खातावालाको खातासमेत बन्द गर्न सक्नेलगायतका कारबाही हुन्छन् ।