काठमाडौं । असारको अन्तिम साता आएको वर्षा र बाढीले ठुलो क्षति पुर्याएपछि दुई आयोजनाबाट ४७ मेगावाट बिजुली उत्पादन बन्द भएको छ । नेपाल र चीनको संयुक्त लगानीमा निर्माण भएको २५ मेगावाटको माथिल्लो मादी र नेपाली लगानीको २२ मेगावाटको वाग्मती जलविद्युत आयोजनाबाट बिजुली उत्पादन बन्द भएको हो ।
गत असारको अन्तिम साता परेको अविरल वर्षा र बाढीले क्षति गरेपछि दुबै आयोजनाबाट बिजुली उत्पादन बन्द भएको नेपाल विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए ।
दुबै आयोजनाबाट बिजुली उत्पादन अझै अनिश्चित भएको उनले जानकारी दिए । माथिल्लो मादी आयोजनामा वर्षादमा सधै समस्या आउने गरेको छ । माथिल्लो मादी दुई वर्षअघि आयोजना सञ्चालनमा आएको हो ।
माण्डु हाइड्रोपावरले बनाएको वाग्मती आयोजना सञ्चालनमा आएको ४ महिना मात्र भएको छ । निर्माणधिन फास्टट्रयाक आयोजनाले माटो वाग्मतीमा खसाल्दा आयोजनामा समस्या आउने गरेको प्रवद्र्धकले बताएको अधिकारले जानकारी गराए ।
माथिल्लो मादी आयोजनामा चाइना इलेक्ट्रिक एन्ड वाटर कर्पोरेशन (सीडब्ल्यु) को ८० र नेपालको गोरखा कन्ट्रक्सनको २० प्रतिशत स्वामित्व छ । यस्तै बाढीकै कारण ४५ मेगावाटको माथिल्लो भोटेकोसी आयोजना ३ वर्षदेखि बन्द छ । हाल आयोजनाको पुननिर्माण भइरहेको छ । एक वर्षपछि सञ्चालनमा आउने अनुमान गरिएको छ ।
प्रणालीमा बिजुलीको माग पिक आवरमा १ हजार २०० मेगावाट हारहारीमा छ । यस्तै आपूर्ति पनि सोही हारहारीमा छ । विद्युत प्राधिकरणका आयोजनाबाट ४७५, निजी क्षेत्रबाट ४०३ र भारतबाट ३१३ मेगावाटसम्म बिजुली आयात भइरहेको अधिकारीले जानकारी दिए ।
कुलेखानी २४ सै घण्टा सञ्चालनमा
देशको एक मात्र जलासय आयोजना कुलेखानीमा पानीको सतह अधिक भएपछि २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । आयोजनाबाट ९२ मेगावाट बिजुली उत्पादन भइरहेको छ । पानी बढी भएर वर्षादमा पनि कुलेखानी आयोजना सञ्चालनमा आएको संभवत यो पहिलो पटक हो ।
वर्षादको पानी सञ्चय गरेर सुख्खायाममा कुलेखानी आयोजना सञ्चालन हुने गरेको थियो । कुलेखानीमा जलसतह बढेर १ हजार ५२७ मिटर पुगेको छ । अब ३ मिटर मात्र भरिन बाँकी छ । गत वर्षको यही अवधिमा १ हजार ५११ मिटर मात्र थियो ।