काठमाडौं । नेपाल राष्ट्र बैङ्कले प्रतिबन्धित ठूला (५०० र १ हजार) दरका भारु सटहीका लागि छलफल थालेको छ । प्रतिबन्ध लागेको दुई वर्ष पुग्नै लाग्दा राष्ट्र बैङ्कले भारु सटहीका लागि छलफल सुरु गरेको हो । भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका बेला राष्ट्र बैङ्कले मङ्गलबारदेखि भारतीय अधिकारीसँग छलफल थालेको हो । भारु सटहीलगायत अन्य विषयमा छलफल भइरहेको छ ।
भारु सटहीका लागि राष्ट्र बैङ्क विदेशी विनिमय विभागकी कार्यकारी निर्देशक सरिता भट्ट अधिकारीले भारतीय टोलीसँग छलफल गरिरहेकी छन् । भारु साट्न भारत सकारात्मक देखिएको छलफलमा सहभागी एक अधिकारीले क्यापिटल नेपाललाई बताए । बुधबार छलफल हुँदा भारतीय अधिकारी राष्ट्र बैङ्कमा रहेको भारु साट्न सकारात्मक देखिएका थिए ।
मोदी सरकारले ठूला भारु नोटमा प्रतिबन्ध लगाएपछि केही समय सटहीका विषयका कुरा उठाए पनि पछिल्लो समय भने सम्बन्धित निकाय प्रयास नै नगरी बसेका थिए । यतिबेला राष्ट्र बैङ्कले पुनः छलफल सुरु गरेको छ । भारु सटहीमा सकारात्मक भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई समेत जानकारी गराइएको छ ।
यसअघि राष्ट्र बैङ्कले एक जनाबाट अधिकतम २५ हजार भारु साट्ने मोडालिटी भारतमा पेस गरेको थियो । मोडालिटी स्वीकृत भए १ महिनाभित्र भारु सटही गर्न सकिने दाबी राष्ट्र बैङ्कले गर्दै आएको थियो । तर, भारतले चासो नदेखाएपछि भारु सटही अन्यौलमा परेको थियो । नेपालको पटक पटकको छलफलबाट प्रतिव्यक्ति ४ हजार ५०० रुपैयाँ साट्न भारत सहमत भयो । तर, सबै भारु भने सटही भएनन् ।
राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नेतृत्वको प्रतिनिधि मण्डल भारु सटहीका लागि भारत गएर छलफल पनि गरेको थियो । तर, भारत सहमत नहुँदा ठूला भारु नोट राष्ट्र बैङ्कको ढुकुटीमा थन्किएका छन् । अहिले राष्ट्र बैङ्कको ढुकुटीमा ७ करोड रुपैयाँभन्दा बढी भारु छ ।
प्रधानमन्त्री तहबाट कुरा हुँदा पनि भारतले भारु साट्न मानेको छैन । भारतले करिब दुई वर्षअघि नोभेम्बरमा ५०० र १ हजार दरका नोटको ‘लिगल टेन्डर’ रद्द गरेदेखि नै नेपालले यी दरका नोटको प्रचलन बन्देज गरी भारतसँग प्रचलनमा आइसकेका नोटको सटही सुविधा माग्दै आएको थियो ।