काठमाडौं । गार्मेन्ट व्यवसायबाट टाट पल्टिएका चण्डीराज ढकालले लिएको ऋण उठाउन पहल गर्नुपर्नेमा उल्टै बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले ढकाललाई ऋणको ब्याज मिनाहा गर्न तीव्र लबिइङ गरिरहेको पाइएको छ ।
यसअघि असार मसान्तसम्म साँवाब्याज भुक्तानी गर्ने समयसीमा दिइएको थियो । तर राष्ट्र बैङ्कले एक महिना थपिदिएपछि साउन मसान्तसम्म साँवाब्याज बुझाउने समय थियो । उक्त समयसीमाभित्र १ रुपैयाँ पनि नबुझाएका ढकाललाई उल्टै साँवाको ब्याज मिनाहाको प्रस्ताव बैङ्कको सञ्चालक समितिमा लैजाने तयारी भइरहेको वाणिज्य बैङ्क स्रोतले जनाएको छ ।
‘उहाँले बैङ्कलाई बुझाउनुपर्ने कुल रकम १ अर्ब १४ करोड रुपैयाँ हो,’ बैङ्क स्रोतले भन्यो, ‘त्यसमध्ये साँवा ३१ करोड र ८३ कराेड रुपैयाँ ब्याज तिर्न बाँकी छ । अहिलेसम्म उहाँले एक रुपैयाँ पनि बैङ्कलाई बुझाउनुभएको छैन ।’
स्रोतका अनुसार अहिले साँवाब्याज गरेर जम्मा ५२ करोड रुपैयाँ मात्रै तिरे हुने गरी सञ्चालक समितिमा प्रस्ताव जाँदै छ । यसलाई साँवाब्याजको पुनर्संरचना (रि–स्ट्रक्चरिङ) भनिन्छ । अहिले ढकालको साँवाब्याजको पुनर्संरचना गर्न लागिएको हो ।
१२ वर्षदेखि ३१ करोड रुपैयाँको साँवा ब्याज नतिरेपछि ढकालले तिर्नुपर्ने रकम ३ अर्ब रुपैयाँ पुगेको थियो । बैङ्कले यसअघि पनि पुनर्संरचना गरेर ८३ करोड रुपैयाँमा झारेको थियो । अहिले पनि त्यसलाई पुनर्संरचना गराउन सीईओ श्रेष्ठ नै लागिपरेको बैङ्क स्रोतको भनाइ छ ।
विगत एक वर्षदेखि ढकालसँग ‘नेगोसिएसन’ भइरहेको र अहिलेसम्म त्यसले अन्तिम रुप नपाएको श्रेष्ठले बताए । ‘यसै गर्ने भनेर अहिले निर्णय भएको छैन,’ उनले क्यापिटल नेपालसँग भने, ‘पहिलो अप्सनअन्तर्गत नेगोसिएसन गर्ने र त्यो सफल नभए कानुनी उपचारमा जान्छौं ।’
‘जनताको पैसामा ढकालले रजाइँ गर्न मिल्दैन,’ बैङ्क स्रोतले भन्यो, ‘एक पटक ठूलो रकम छूट दिइसकेको छ । अब फेरि अर्को पटक पनि छूट दिने खेल भइरहेको छ ।’
स्रोतका अनुसार ढकालले ३८ करोड रुपैयाँ मात्रै बैङ्कले लिनुपर्ने बताउँदै आएका छन् । १२ वर्षदेखि साँवा ब्याज केही पनि नतिर्ने अनि साँवासँग ७ करोड रुपैयाँ मात्रै बैङ्कलाई बुझाउने गरी मिलाउन ढकाल अहोरात्र खटिएका छन् ।
बैङ्कले ढकाललाई कालोसूचीमा राखे पनि आजसम्म ढकालको सम्पत्ति लिलामी गरेको छैन । जुन सम्पत्ति राखेर धितो दिएको हो, त्यसलाई अहिलेसम्म बैङ्कले लिलामीको प्रक्रिया अघि नबढाएको बैङ्क स्रोतको दाबी छ ।
बरु ढकालले १० करोड रुपैयाँ दिइसकें भनेर सार्वजनिक रुपमै बोले पनि बैङ्कलाई अहिलेसम्म एक रुपैयाँ पनि नदिइएको पुष्टि भएको छ । बैङ्कमा ढकालले एक रुपैयाँ पनि नदिएको स्रोतले बताएको छ ।
ढकालले बैङ्कलाई आफू उद्योग चलाउने र त्यसका लागि नयाँ लगानीकर्ता खोजिरहेको भन्दै झक्याइरहेका छन् । ढकालले बैङ्कलाई दुबईबाट नयाँ लगानीकर्ता भित्र्याउने बताइरहेका छन् । बन्द भएको उद्योगलाई पुनः सञ्चालन गर्न नयाँ लगानीकर्ता भित्र्याउन लागेको बैङ्कलाई दिएको डकुमेन्टमा समेत उल्लेख छ । गार्मेन्ट व्यवसाय ओरालो लागेका बेला उनले लामो समयदेखि बन्द मोमेन्टो एपरल्सलाई ब्युँताउने सम्भावना न्यून छ । ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घका पूवअध्यक्ष हुन् ।