काठमाडौं । पछिल्लो समयमा बैङ्कका एटीएमबाट ठगी गर्ने क्रम बढेको छ । नेपाल सूचना तथा प्रविधिमा पछाडि र खुला सीमाका कारण कसूर गरेर भाग्न सजिलो हुने भएकाले पछिल्ला दिनमा एटीएम ठगीका घटना बढेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले जनाएको छ । सीआईबीकाअनुसार मास्टर कार्डको प्रयोग गरी एटीएम ठगी गर्ने क्रम बढेको हो ।
सीआईबीको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म एटीएमको दुरुपयोग गरी २ करोड ५७ लाख ४४ हजार ४३१ रुपैयाँ ठगी भएको भन्दै बिगो दाबी गरिएकाे छ । आर्थिक वर्ष २०७०/०७१ मा ७ लाख रुपैयाँ बराबरको एटीएम ठगी भएकामा आर्थिक वर्ष २०७४/७५ मा आइपुग्दा झण्डै ३ करोड रुपैयाँ ठगी भएको छ ।
चार वर्षको अन्तरालमा साढे २ करोड रुपैयाँभन्दा बढी ठगी भएको सीआईबीको तथ्याङ्कले देखाउँछ । एटीएम ठगीमा नेपालीको तुलनामा विदेशी बढी छन् ।
सीआईबीले १४ वटा घटनामा ६ नेपाली, ४ रोमानियन, ४ टर्कीस, ४ बुल्गिेरियन, २ भारतीय र ४ मोल्दोभियन नागरिक गरी २४ जनालाई पक्राउ गरेको छ । जसमध्ये विदेशी नागरिक १८ जना छन् । सीआईबीले हालसम्म ९५ लाख ६२ हजार ८५० रुपैयाँ, अमेरिकी डलर ७५ हजार २२५, युरो ७३ हजार ८७५, इन्डोनेसियन रुपी ३३ हजार, फिलिपिनी करेन्सी ४७० तथा १ हजार ३६९ थान एटीएम कार्ड बरामद गरेको जनाएको छ ।
विदेशी नागरिक प्रविधिमा नेपालीको तुलनामा पोख्त छन् । त्यसैको फाइदा उठाउँदै विदेशी नागरिकले मास्टर कार्डको प्रयोग गरेर एटीएमबाट पैसा झिक्ने गरेको सिआईबी प्रवक्ता दीपक रेग्मीले बताए ।
उनका अनुसार नेपालका सीमा खुल्ला भएकाले पनि ठगी गरेर भाग्न सजिलो हुने भएकाले विदेशी एटीएम ठगीमा आकर्षिक हुने गरेको अनुसन्धानमा खुलेको छ ।
ठगी गरेर हवाई यातायातबाट जान नपाए पनि खुल्ला सीमाका कारण भारतीय बाटो प्रयोग गरेर फरार हुने प्रवक्ता रेग्मीले बताए । खुल्ला सीमाका कारण भाग्न सजिलो हुने भएकाले पनि नेपालमा ठगी गर्न बढी सुरक्षित मानिएकाले एटीएम ठगी बढेको प्रवक्ता रेग्मीको भनाइ छ ।
बैंकिङ कसूर तथा सजायँ ऐन, २०६४ मा कसैले पनि क्रेडिट कार्ड, डेबिट कार्ड, अटोमेटेड टेलर मेशिन (एटीएम) कार्ड वा अन्य विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन हुँदैन भन्ने उल्लेख छ ।
ऐनका अनुसार त्यसरी ठगी गर्नेलाई कसूरको मात्रा अनुसार कैद र बिगो भराई जरिवाना हुनेछ ।