काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भावनी राणाले रोजगारी सिर्जना हुने क्षेत्रमा सहकार्य गर्न भारतीय उद्यमीलाई आग्रह गरेकी छिन् ।
भारतको मध्यप्रदेश राज्यको इन्दौरमा एशियाटिक लिवरल मल्टीफेरियस एसोसिएसन र वर्ल्ड बुक्स अफ रेकर्डसको संयुक्त आयोजनामा शुक्रबार आयोजित २० औँ सर्वोत्कृष्ट राष्ट्रिय सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल राजनीतिक स्थिरतासँगै आर्थिक विकासको मार्गमा अगाडि बढेको र बाह्य लगानी आकर्षणका लागि समेत क्रियाशील रहेकाे भन्दै नेपालमा लगानीका लागि आग्रह गरिन् ।
सम्बोधनका क्रममा अध्यक्ष राणाले नेपाल–भारतबीचको आपसी सम्बन्धका बारेमा चर्चा गर्दै नेपालको आर्थिक विकासमा आपसी सहयोग र सहकार्यमा जोड दिइन् । बाह्य लगानी आकर्षण गरी मुलुकभित्र रोजगारी सिर्जना गर्नेतर्फ नेपाल सरकार तथा निजी क्षेत्रको जोड रहेको भन्दै उनले यसका लागि आवश्यक मानव संशाधन विकास र स्वरोजगार सिर्जनामा एएलएमए र वर्ल्ड बुक्स अफ रेकर्डस् जस्ता संस्थासँग सहकार्य गर्न महासङ्घ तयार रहेको बताइन् ।
दुवै संस्थाको कार्य अत्यन्त अनुकरणीय रहेको भन्दै अध्यक्ष राणाले यी संस्थासँग जोडिएका अतिविशिष्ट व्यक्तिसँग कार्यक्रममार्फत जोडिन पाउँदा आफूलाई अत्यन्त खुशी लागेको र यसबाट नेपालले समेत फाइदा उठाउन सक्ने बताइन् ।
एएलएमएले लिएका कतिपय उद्देश्य नेपालभित्र सरकारपछि दोस्रो ठूलो कार्य सञ्जाल रहेको महासङ्घका उद्देश्यसँग समान रहेको भन्दै अध्यक्ष राणाले दीगो सामाजिक आर्थिक विकासको प्रवर्द्र्धन, वातावरणमैत्री व्यवसाय तथा सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, संस्थागत सुशासन, युवा तथा महिला उद्यमशीलताको प्रवर्द्र्धन, नयाँनयाँ व्यवसायको प्रर्वद्र्धनमा महासङ्घ क्रियाशील रहेको स्पष्ट पारिन् ।
एएलएमएले स्थापनाको दुई दशकमा वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य, दीगो विकास, सूचना प्रविधिलगायत क्षेत्रमार्फत स्वरोजगार सिर्जनामा पाएको सफलता र वर्ल्ड बुक्स अफ रेकर्डसले मानिसको चौतर्फी विकासमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरिन् ।
महासङ्घले पनि प्रत्येक वर्ष राष्ट्रिय सर्वोत्कृष्ट सम्मानको आयोजना माध्यमबाट उद्योग व्यवसाय, कम्पनी, उद्योग प्रतिष्ठान, उद्यमी व्यवसायीलाई प्रोत्साहित गर्दै गएको जानकारी गराउँदै अध्यक्ष राणाले यसले समग्रमा जिम्मेवार व्यवसाय विकास, कर्पोरेट वर्ल्डसँगको सम्बन्ध विस्तारमा सहयोग पुगेको स्पष्ट पारिन् । अध्यक्ष राणाले महासङ्घ दुवै संस्थासँग आगामी दिनमा सहकार्य गर्न इच्छुक रहेको बताइन् ।