काठमाडौं । कांग्रेस सांसद एवं उद्योगी विनोद चौधरीले पैतिृक सम्पत्तिमा समेत कर लगाउने हल्लाले अर्थतन्त्र मात्रै नभई पारिवारिक र सामाजिक क्षेत्रमा विकृति ल्याउने बताएका छन् ।
संसद्को आइतबार विशेष समयमा बोल्दै चौधरीले करलाई उत्पादनसँग जोड्न नसके र व्यापारलाई प्रतिस्पर्धी बनाउन नसके हाम्रा योजना कागजी हुने दाबी गरे । ‘अझ अहिले त पैतृक सम्पत्तिमा समेत कर लगाउने हल्ला आइरहेको छ । यसले गम्भीर विकृति निम्त्याउने निश्चित छ,’ उनले भने, ‘यसले अर्थतन्त्र मात्रै नभई पारिवारिक र सामाजिक रुपमा पनि विकृति आउँछ ।’
विश्वमा सबैभन्दा बढी ३० प्रतिशत कर लगाउने मुलुक नेपाल भएको भन्दै करलाई उत्पादनसँग जोड्न उनको आग्रह गरे । अर्थमन्त्री डा. युवराज खतिवडाप्रति लक्षित गर्दै नयाँनयाँ कर लगाउने विधिमा अर्थमन्त्री तल्लीन रहेको प्रतिक्रिया दिए ।
‘नेपाल करका दृष्टिमा विश्वमा सबैभन्दा बढी ३० प्रतिशत कर लाग्ने मुलुक चित्रित छ । ७५३ ओटा सरकारलाई पैसा चाहिएको छ । अर्थमन्त्रीलाई कर लगाउने नयाँ विधि चाहिएको छ,’ उनले भने, ‘करलाई उत्पादनसँग जोड्न सकेनौं र व्यापारलाई प्रतिस्पर्धी बनाउन सकेनौं भने हाम्रा योजना कागजमा सीमित हुनेछन् ।’
सातै ओटा प्रदेशमा औद्योगिक ग्राम खोल्ने सरकारले योजना अपुरो र अधुरो रहेको बताए । अहिलेसम्म पनि एउटा पनि औद्योगिक ग्राम नखुलेको र अझै कति समय लाग्ने हो कुनै टुङ्गो नभएको उनको भनाइ छ ।
कृषिको जोनका रुपमा अघि बढाइएको गार्मेन्ट उद्योगका लागि एउटा पनि आवेदन नपरेको बताउँदै चौधरीले उद्योग स्थापनामामा लगानी नहुनु दुःखद रहेको प्रतिक्रिया दिए ।
बढ्दो आयात घटाउन नसक्नु सरकारकै कमजोरी रहेको उनको भनाइ छ । ६ खर्बभन्दा बढीको कृषिजन्य वस्तुको आयातले व्यापार घाटा बढेको उनको भनाइ छ । लगानी, उत्पादन, निर्यात र कर नीतिमा सरकार चनाखो बन्नुपर्नेमा उनले जोड दिए ।