काठमाडौं । सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) सुरु भएको छ । बुधबार एक कार्यक्रमका बीच उपराष्ट्रपति नन्दकिशोर पुनले एक्स्पोको उद्घाटन गरेका हुन् ।
एक्स्पो उद्घाटन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले मानिसको जीवनमा जुनसुकै बेला पनि आवश्यक पर्ने फर्निचर व्यवसायलाई राज्यले संरक्षण र सहुलियत दिनुपर्ने बताए । सरकारले व्यवसायीमैत्री वातावरण बनाउनभन्दा पनि व्यवसायीलाई तर्साउने काम गरेको उनको आरोप छ । पहिले थुन्ने अनि पछि सुन्ने सरकारको नीतिले निजी क्षेत्र अघि बढ्न नसक्ने उनको भनाइ थियो । उनले निजी क्षेत्रले सरकारलाई विश्वास गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिएका छन् ।
आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ सङ्घका अध्यक्ष रुपेश प्रधानले कच्चा पदार्थको सहज उपलब्धता नभएका कारण मुलुकमा फर्निचर व्यवसाय फस्टाउन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘दक्ष जनशक्तिको अभाव सधैं खड्किँदा अन्य मुलुकबाट जनशक्ति आयात गर्नु पर्ने अवस्था आएकाले सरकारलाई प्रोत्साहनमुखी ठोस नीति ल्याउन आग्रह गर्छौं ।’ मुलुकभर १० हजार फर्निचर तथा फर्निसिङ व्यवसायी रहेको र ५ लाखभन्दा बढीले रोजगारी पाइरहेको भए पनि यो क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न नसकेको उनले गुनासो गरे ।
किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री एक्स्पोका मुख्य आकर्षण बन्ने विश्वास गरिएको छ । यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन पनि एक्स्पोमा राखिएको आयोजकले जनाएको छ ।
एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दा बढी प्रदर्शकहरुको सहभागिता छ । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजनामा राजधानीको भृकुटीमण्डपमा एक्स्पो भदौ २९ गतेसम्म सञ्चालन हुनेछ ।