काठमाडौं । होङ्सी शिवम् सिमेन्टको सिको गर्दै केही चिनियाँ लगानीकर्ताले सोेही मोडलअनुसार नेपालमा लगानी गर्न इच्छा देखाएका छन् । नेपाली बैङ्कबाट शतप्रतिशत ऋण लिएर होङ्सी सिमेन्ट सञ्चालनमा ल्याइएपछि चिनियाँ लगानीकर्ताले दाङमा नयाँ सिमेन्ट उद्योग खोल्न र जलविद्युत् आयोजना बनाउन सोही मोडल अपनाउन खोजेका छन् ।
होङ्सीले ३६ अर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत गरे पनि नेपालको एनएमबी बैङ्कले १४ अर्ब रुपैयाँ र अन्य बैङ्कले ३ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । होङसीको उत्पादन क्षमता बढाउन कर्मचारी सञ्चय कोषले २ अर्ब रुपैयाँ ऋण दिएको छ ।
होङ्सीले चीनबाट लगानी नै नल्याई नेपाली बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएर उद्योग सञ्चालन गरेको छ । अहिले चिनियाँ लगानीकर्ता सोही विधिलाई अपनाएर नेपालमा आउन चाहेको बुझिएको छ । होङसीलाई कर्जाको सुरक्षण जमानत बैङ्क अफ चाइना र मिङसेङ बैङ्कले दिएका छन् ।
स्रोतका अनुसार नेपाली बैङ्कबाट ऋण लिएर चिनियाँ लगानीकर्ता मालिक बन्न चाहेका छन् । नेपाली बैङ्कबाट ऋण लिने, आफ्नो देशमा भएका मेसिनलगायत अन्य उपकरण नेपालमा बेच्ने र आफू पनि त्यो उद्योगको मालिक बन्ने चिनियाँ प्रवृत्ति मौलाएको छ ।
त्यसो गर्दा चिनियाँ मेसिनको पनि बिक्री भयो । यसबाट नेपालबाट अपत्यारिलो ढङ्गले पुँजीसमेत विदेशमा गइरहेको छ । विदेशी लगानी भन्ने तर, एक रुपैयाँ पनि नल्याउने, उद्योगलाई मेसिन बेचेबापत उल्टै नेपालबाट रकम लैजाने क्रम बढेको छ ।
प्रचलित मूल्यभन्दा दोब्बर मूल्य राखेर नेपाललाई मेसिन बेच्ने, आयोजनाको लागत दोब्बर बनाउने र नाफाबापत पाउने लाभांश पनि लैजाने गरी चिनियाँ लगानीकर्ता नेपाल आएका छन् । यति मात्र नभइ कम्पनीले डलरमा लाभांश र लगानी फिर्ता लैजाने छ ।
नेपालसँग पर्याप्त पुँजी नभएपछि विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरिएको छ । यसोगर्दा एकातिर नेपाली बैङ्कसँग लगानीयोग्य रकमको अभाव हुन्छ भने, स्वदेशमा भएका लगानीकर्ताले सहजै ऋण पाउने सम्भावना हुँदैन । चिनियाँ मात्र हैन, भारतीय कम्पनीले पनि नेपाली बैङ्कबाट ऋण लिने भएका छन् ।
अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको सतलज जलविद्युत् निगम लिमिटेडले पनि नेपालका नबिल, एभरेष्ट तथा एसबीआई बैङ्कबाट गरी १५ अर्ब रुपैयाँ ऋण लिँदैछ । औपचारिक रुपमा ऋण सम्झौता हुन भने बाँकी छ ।