काठमाडौं । काठमाडौं महानगरपालिकालाई उपत्यकाभित्रको फोहर दसैंमा व्पयवस्थापन गर्न समस्या हुने भएको छ । महानगरले फोहर व्यवस्थापन गर्न फोहर लाने बाटो निर्माणको काम भइरहेकाले पछिल्लो समयमा उपत्यकाको फोहर व्यवस्थापन गर्न समस्या भएको जनाएको छ ।
पछिल्लो दुई सातादेखि फोहर विसर्जन गर्ने स्थान सिसडोल जानेबाटो नागार्जुनमा मर्मत भइरहेकाले उपत्यकाको फोहर व्यवस्थापनमा समस्या आएको महानगरका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए ।
उनका अनुसार बाटो निर्माणको काम दसैंसम्म जारी रहने भएकाले पनि महानगरलाई फोहर व्यवस्थापनमा समस्या आएको हो । उनले भने, ‘अरु समयमाभन्दा चाडपर्व र वर्षाको समयमा उपत्यकामा सबैभन्दा बढी फोहर हुन्छ ।’ नियमितरुपमा व्यवस्थापन नभएर अगाडिदेखि नै फोहर थुप्रियर बस्दा दसैंमा थप समस्या आएको श्रेष्ठले बताए ।
यो समस्या महानगरको पहिलो होइन । महानगरले फोहरको समस्या विगतदेखि नै भोग्दै आएको छ । महानगरले दुई वर्षका लागि मात्र फोहर व्यवस्थापन गर्ने भने पनि १३ वर्षदेखि सिसडोलमा फोहर विसर्जन गदै आएको छ ।
सिसडोलमा उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिन्छ । प्रत्येक दिन उपत्यकाबाट एक हजार २ सय मेट्रिक टन फोहर सिसडोलमा नै व्यवस्थापन गरिँदै आएको छ । उपत्यकाबाट निजी र महानगरका गरी करिब दुई सय गाडी फोहर दैनिक फालिँदै आएको छ ।
सिसडोलमा फालेको फोहर अव्यवस्थित भएको र उपत्यकाको फोहर व्यवस्थापन गर्न नदिने भन्दै त्यहाँका स्थानीयले बेलाबेलामा अवरोध गदै आएका छन् ।
सिसडोलमा मात्र लामो समयसम्म फोहर व्यवस्थापन गर्ने ठाउँ प्राप्त नभएकाले र स्थानीयलाई समस्या हुने भन्दै सरकारले सिसडोलबाट दुई किलोमिटर टाढा रहेको बन्चरे डाँडामा दीर्घकालीन फोहर व्यवस्थापन केन्द« निर्माण गर्न लागेको प्रमुख श्रेष्ठले बताए ।