काठमाडौं । पुननिर्माण भइरहेको ४५ मेगावाटको माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाले तिहारलगतै बिजुली उत्पादन थाल्ने भएको छ । आयोजनाको बाँकी रहेको पुननिर्माण सम्पन्न गरी पानी भर्ने काम सकिएको छ । विद्युतगृहमा इलेक्ट्रोमेकानिकलको काम पनि अन्तिम चरणमा पुगेको छ ।
तिहारलगतै आयोजनाबाट बिजुली उत्पादन गर्ने प्रवद्र्धक भोटेकोसी पावर कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिक्रमरत्न स्थापितले बताए । उनले सफाइका अतिरित्त केही काम बाँकी रहेको जानकारी दिए ।
२०७२ सालको भूकम्प र त्यसपछि भोटेकोसीमा आएको बाढीले आयोजनामा ठुलो क्षति भएको हो । आयोजनाको ठेकेदार सिनो हाइड्रो कर्पोरेशन रहेको छ । भोटेकोसीले सिनोसँग आउँदो अक्टुबरसम्म काम सक्ने गरी ठेक्का सम्झौता गरेको छ ।
आयोजनाको बाँध र विद्युतगृह नयाँ बनाइएको छ । आयोजना बनाउन झन्डै ७ अर्ब रुपैयाँ थप लगानी भएको छ । यसअघि आयोजना १४ अर्ब रुपैयाँमा निर्माण भएको थियो । आयोजना नदीको बहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको हो ।
आयोजनाबाट वार्षिक २९ करोड ३२ लाख युनिट बिजुली उत्पादन हुन्छ । आयोजना पुननिर्माणपछि जडित क्षमतामा कुनै असर नपरेको उनले बताए ।
विद्युतगृहको इलक्ट्रोमेकानिकल र जनेरेटर पूरै परिवर्तन गरी नयाँ जडान गरिएको स्थापितले बताए । २०७२ को भूकम्पले पेनस्टक पाइपमा क्षति पुुर्याएको थियो । पेनस्टक पाइप बनेपछि २०७३ साउनमा आएको बाढीले पुनः आयोजनाको बाँध संरचना पुर्नुका साथै विद्युतगृहमा क्षति पुर्याएको थियो ।
आयोजनाको तातोपानीको १० किलोमा रहेको बाँध पूरै क्षतिग्रस्त हुनुका साथै दुई ओटा ढोकासमेत बाढीले पुरिएको थियो । कङ्क्रिट ढलानको बाँधको सडकपट्टिको कमजोर भूभागबाट बाढीले खोलेपछि हाल सोही ठाउँबाट नदी बगेको छ । आयोजना नेपाल र चीनको सीमाना तातोपानी भन्सार नजिक छ ।
आयोजना सन २००१ देखि सञ्चालनमा आएको हो । अमेरिकाको पाण्डा इनर्जीले निर्माण गरेको आयोजना पछि तारा म्यानेजमेन्टले खरिद गरेको हो ।
९५ प्रतिशत तारा म्यानेजमेन्टको र बाँकी ५ प्रतिशत अमेरिकाको हार्जा इन्टरनेसनल इंकको स्वामित्व छ ।नेपाल विद्युत प्राधिकरणले आयोजनाको बिजुली डलरमा खरिद गर्ने छ ।