काठमाडौं । सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडामा प्रबलीकरण कार्य भइरहेकामा पश्चिम मोहडाका लागि पनि ठेक्का सम्झौता भएको छ ।
प्रबलीकरण कार्यान्वयनको जिम्मेवारी लिएको प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभीबीच यसबारे सोमबार सम्झौता भएको हो । सम्झौतामा एकाइका तर्फबाट आयोजना निर्देशक नवराज प्याकुरेल र जेभीका तर्फबाट लक्ष्मीप्रसाद सुवेदीले हस्ताक्षर गरेका छन ।
जेभीले भ्याटबाहेक ४१ करोड ७९ लाख रुपैयाँमा प्रबलीकरणको ठेक्का पाएको हो । सम्झौताअनुसार जेभीले १५ दिनभित्र प्रबलीकरण कार्य शुरु गर्नेछ ।
आयोजना निर्देशक प्याकुरेलले सिंहदरबारको मौलिक स्वरुप कायम राखी भूकम्प जानुअघिको भन्दा बलियो हुने गरी प्रबलीकरण गरिने जानकारी दिए ।
ठेक्का कम्पनीका प्रतिनिधि सुवेदीले तोकिएको गुणस्तरमा समयभित्रै प्रबलीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रबलीकरण कार्यको परामर्शदातामा आइआरसी–इकोकोड नेपाल जेभी छनोट भएको छ ।
तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाको पालामा निर्माण गरिएको सिंहदरबारको यो खण्ड २०३० सालको आगलागीबाट जोगिएको भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण मोहडा जलेर नष्ट भएको थियो ।
पछि पुनःनिर्माण गरिएको थियो । सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडाको प्रबलीकरणको ७० प्रतिशत काम सकिएको छ । रासस