काठमाडौंं । धरहरा पुननिर्माण सुरु भएको एक बर्ष बितिसक्दा पनि कामले गति लिन सकेको छैन । धरहराको टावरको संरचना समेत ठडिन सकेको छैन ।
पुननिर्माण थालेको दुई बर्ष भित्रमा धरहराको सम्पूर्ण काम सक्नु पर्ने भएपनि ठेकेदार कम्पनी रमन कन्स्ट्रक्सनको ढिलासुस्तीका कारण एक बर्षमा टावर निर्माणको दुई वटा बेसमेन्टको मात्र काम सकिएको छ । केही समय अवरुद्ध भएकाले निर्माणमा ढिलाई भएको धरहरा पुननिर्माण आयोजना प्रमुख श्यामचन्द्र श्रेष्ठले बताए ।
उनका अनुसार अहिले धरहराको ३० प्रतिशत मात्र काम सकिएको छ । अहिले टावरको दुई ओटा बेसमेन्ट सम्मको काम सकिएर अण्डरग्राउडको काम सुरु गरेका छौं, उनले भने ‘पहिलेको भन्दा अहिले निर्माणको काम दु्रत गतिमा अगाडी बढाएको छ । अबको एक बर्षमा २२ तलाको टावर निर्माण सक्ने लक्ष्य लिएका छौंं ।’
धरहरा निर्माणको लागि सम्पूर्ण जग्गा प्राप्ती,बाटो, बिजुली, खानेपानीको पाइपलाइन लगाएतका विभिन्न समस्या आइपरेकाले सुरुमा निर्माण कार्य गर्न नपाउदा ढिलाई भएको र अब यस्ता समस्या हट्दै गएकाले निर्माण कार्यले गति लिने प्रमुख श्रेष्ठको भनाई छ ।
दुई ओटा बेसमेन्ट बनाउने कार्य सकिएकाले अब टावरको तला थप्ने काममा लागेको र १५ दिनमा एक तला सकिन्छ, उनले भने‘टावरलाई एक बर्षमा सकेर अन्य फिनिसिङको काम तलबाट नै गरेर लाने योजना छ ।’ त्यसपछि ट्रिपलल बेसमेन्ट पाकिङ, म्यूजियम र बगैंचा पनि सँगसँगै बनाउन गरी अगाडी बढ्ने उनको भनाइ छ ।
सम्झौता गरेको समयमा धरहराको काम नसकिने भएकाले प्राधिकरणले म्याद थप्नु पर्ने उनले बताए । प्राधिकरणले काम हेरर समय थपिदिने आशामा छौं, उनले भने अब प्राधिकरणले कामको मुल्याङकन गरेर समय थपिदिने आशा राखेका छौ ।’
गत २०७५ असोज १९ गते रमन कन्स्ट्रक्सनसँग दुइ बर्षभित्रमा निर्माण सम्पन्न सक्ने गरी सरकारले सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७७ असोज १९ गते सक्नु पर्ने छ ।
धरहरा पुननिर्माणमा अहिलेसम्म प्राधिकरणबाट ७० करोड रुपैयाँ निर्माण कम्पनीलाइ भुक्तानी भइसकेको छ । धरहरा पुननिर्माणका लागी निर्माण कम्पनी रमन कन्स्ट्रक्सनसँग ३ अर्ब ४५ करोड रुपैयाँको ठेक्का सम्झौता गरेको थियो ।