काठमाडौं । दक्षिण एसियाली मुलुकमा आर्थिक मन्दी हुँदा पनि नेपालमा त्यसको कुनै असर नपर्ने बिज्ञहरुले बताएका छन् ।
विश्व बैङ्कले मङ्गलबार प्रकाशित गरेको रिपोर्टलाई हेर्दा दक्षिण एसियाली मुलुकको अर्थतन्त्र ओरालो लागिरहेको देखाए पनि नेपालमा त्यसको खासै ठूलो असर नपर्ने अर्थशास्त्री तथा राष्ट्रिय याेजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले बताए ।
दक्षिण एसियाली मुलुकको अहिलेको आर्थिक अवस्था के कस्तो छ ? र आगामी वर्षको आर्थिक वृद्धिदरको प्रक्षेपण सहित यो रिपोर्ट प्रकाशित गरिएको छ । प्रतिवेदनमा दक्षिण एसियाली मुलुकको आर्थिक अवस्था देखाइएको छ ।
दक्षिण एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक भारत हो । दक्षिण एसियामा भारतको अर्थतन्त्र नै ७० देखि ७५ प्रतिशत हिस्सा छ । र भारतकै अर्थतन्त्रका कारण साना मुलुकका अर्थतन्त्र ओझेलमा पर्ने गरेको छ । भारतमा ठूलै आर्थिक मन्दी हुने लक्षण देखिएको डा. वाग्लेले जानकारी दिए ।
भारतको निर्यात ७ प्रतिशत बिन्दुले घटेको छ । अर्थतन्त्रको आकारको अनुपातमा लगानी झण्डै ११ प्रतिशत विन्दुले घटेको रिपोर्टमा उल्लेख छ । र उपभोग पनि ७ प्रतिशत विन्दुले घटेको देखिएको छ । श्रीलङ्कमा अर्थतन्त्र ओरालो गतिमै छ । पाकिस्तानमा पनि त्यही हालत छ । बङ्गलादेशमा भने खासै असर परेको देख्दिैन ।
‘क्षेत्रीय अर्थतन्त्र तथा विश्व अर्थतन्त्रमा नेपाल त्यति नजिक नभइसकेको र दक्षिण एसियाली मुलुकमा जुन खालको गिर्दा अर्थतन्त्र छ, त्यसले नेपाललाई खासै प्रभाव नपार्ने यो रिपोर्ट हेर्दा देखिन्छ,’ वाग्लेले भने ‘गिर्दाे अर्थतन्त्रबाट नेपाल अलिकति अछुतो रहन सक्ने अवस्था छ ।’
भारतबाट आउने रेमिट्यान्सलाई त्यति गणना गर्दैनौ । रेमिट्यान्स बाहिरकै हो । त्यो स्थिर रुपमा आइरहेकै छ । एक तिहाइ जिडीपी कृषि मनसुनबाटै हो । विद्युत् आपूर्ति पनि राम्रो छ । र आर्थिक वृद्धि ७ प्रतिशतकै हाराहारिमा चलिरहेको छ ।
विश्व बैङ्कका दक्षिण एसिया क्षेत्रका प्रमुख अर्थविद् हेन्स टिमरका अनुसार नेपाल सेन्टिमेन्टका हिसावले दक्षिण एसियाली मुलुकसँग जोडिएको छ । भारतमा बिक्री कम भयो भने त्यसको अलिअलि असर नेपालमा पनि पर्छ । तर, नेपालबाट निर्यात एकदमै कम हुन्छ । नेपालको निर्यात भनेको अरु देशको आयात हो । अरु देश आर्थिक रुपले तलतिर जादा आयात पनि घटाउने सम्भावना हुन्छ ।
वाग्लेका अनुसार नेपालबाट धेरथोर निर्यात हुँदै आएको छ । त्यसमा अरु देशले घटाउन सक्ने अनुमान लगाएका छन् । समग्रमा भन्नुपर्दा अर्थतन्त्र ओरालोतिर लागिरहेको छ । त्यसबाट ठूला अर्थतन्त्र भएका मुलुकलाई ठूलै धक्का लाग्छ भने नेपाल जस्तो सानो मुलुकलाई थोरै धक्का लाग्न सक्ने डा. वाग्ले बताउँछन् ।
रिपोर्टले दक्षिण एसियाको भावी सम्भावना अत्यन्तै राम्रो भएको औल्याएको छ । वर्तामान अवस्थामा ओरालो लागेको देखिए पनि मध्यम र लामो समयमा अर्थतन्त्रले ठूलै फड्को मार्ने सम्भावना छ । चीनको अर्थतन्त्र पनि ओरालो तिर लागेकाले विश्वको स्रोत दक्षिण एसियातिर सर्न सक्छ भन्ने निचोड पनि रिपोर्टको छ ।
त्यसैगरी आर्थिक वृद्धिका हिसावले नेपाल दोस्रो स्थानमा परेको छ । पहिलो स्थान बङ्गलादेशले ओगटेको छ भने दोस्रोमा नेपाल परेको रिपोर्टमा उल्लेख छ । भारत, पाकिस्तान, श्रीलङ्कालगायत दक्षिण एसियाली मुलुकको आर्थिक वृद्धि घटाइएको छ भने नेपालको ७ प्रतिशतको हाराहारीमा राखिएको छ ।