काठमाडौं । उद्योगीले सामाजिक उत्तरदायित्व (सीएसआर) शिर्षकमा गरेको खर्च दान स्वरुप भएको र त्यसलाई खर्चमा देखाउन नमिल्ने सरकारले ठहर गरेको छ ।
दान दिने कुरा स्वेक्षिक भएको र त्यस्तो रकमलाई खर्चमा देखाउन नहुने अर्थ मन्त्रालयका राजस्व सचिव शिशीरकुमार ढुङ्गानाले बताए । उद्योगीले पटक पटक सीएसआरमा खर्च गरेको रकम आफ्नो खर्चमा देखाउन पाउनुपर्ने माग गर्दै आएका थिए ।
सीएसआरमा खर्च गर्नु भनेको दान गर्नु सरह हो । त्यसलाई व्यवसायीले खर्चमा देखाउन पाउनुपर्ने माग गरेका छन् । यदि खर्चमा देखाउन पाए, आम्दानी घट्ने र राज्यलाई बुझाउनुपर्ने आयकर कम पनि हुने छ । त्यही भएर व्यवसायीले सीआरआरमा खर्चमा देखाउन पाउनु भनेको कर कम तिर्न खोजेको हो ।
‘तपाईहरु (उद्योगीं) ले स्वविवेक रुपमा दिएको पैसा हो,’ उनले भने, ‘त्यो रकम पनि खर्चमा देखाउने कुरा गर्न न्यायोचित भएन ।’ सरकारले छुट दिने ठाउँमा दिएको छ । सरकारले दिँदै पनि जान्छ । तर, जहाँ पायो त्यहीं छुट माग्ने माग व्यवसायीले बन्द गर्नुपर्ने ढुङ्गानको भनाइ छ ।
ढुङ्गानले सरकारले कर प्रशासनमा व्यापक सुधार गरेको र यसलाई व्यवसायीले सकरात्मक रुपमा प्रचार गर्नुपर्ने बनाए । सरकारले अझै सुधार गरिरहेको छ । जति सुधार भएका छन्, ती सुधारलाई कार्यान्वयनको चरणमा लैजान व्यवसायीको सहयोग आवश्यक रहेको उनको भनाई ।
उद्योग वाणिज्य महासङ्घले आठौं कर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ढुङ्गानाले व्यवसायी पनि सच्चिनुपर्ने बताए । व्यवसायीले कर प्रशासनमा गल्ति गरेकै कारण सरकारले नयाँ नयाँ कानुन ल्याउनु परेको बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले राजस्व लक्ष्य अनुरुप नउठेकोमा चिन्ता ब्यक्त गरे । ‘सरकारले राखेको लक्ष्य अनुसार राजस्व उठेको छै्न,’ उनले भने, ‘यो सरकारको मात्रै नभई, हाम्रो पनि चिन्ताको विषय हो ।’
राजस्व सचिव ढुङ्गानाले सरकारले राजस्व लक्ष्य भेटाउने बताए । ‘व्यवसायीलाई अतिरिक्त भार नपर्ने गरी सरकारले राजस्व लक्ष्य भेटाउँछ,’ उनले भने, ‘सरकारले त्यसको उपायको खोजी गरिसकेको छ ।’ ‘राजस्वको लक्ष्य पुग्दैन कि भन्ने तपाइहरुको चिन्ता छ, त्यो स्वभाविक हो,’ उनले भने, ‘तर, ढुक्क हुनुहोस्, लक्ष्य भेटाइन्छ । त्यसको उपाय हामीसँग छ ।’