काठमाडौं । मंगलवार नेप्से परिसूचक ३ दशमलव ७५ अंक बढेर १ हजार ११५ दशमलव ७४ विन्दुमा पुगेको छ । कारोबार शुरु भएको पहिलो १५ मिनेट सामान्य घटेर १ हजार १११ दशमलव १९ को विन्दुसम्म पुगेको बजार त्यसपश्चात भने बढेको थियो ।
मंगलवार रू २६ करोड ६८ लाख बराबरको शेयर कारोबार भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा १४ दशमलव ८७ प्रतिशत बढी हो । गत कारोबार दिन सोमवार रू २३ करोड २२ लाख रकम बराबरको कारोबार भएको थियो ।
सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव ६३ अंक बढेर २४६ दशमलव ३४ विन्दुमा पुगेर बन्द भएको छ । मंगलवार कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये व्यापार, विकास बैंक, वित्त र ‘अन्य’ समूहको परिसूचक घटेको छ ।
जीवन बीमा समूहको परिसूचक १ दशमलव २७ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ दशमलव शून्य ३ प्रतिशत बढेको छ ।
यस्तै बैंकिङ, होटल, जलविद्युत्, निर्जीवन बीमा, लघुवित्त र म्युचुअल फन्ड समूहको परिसूचक १ प्रतिशतभन्दा कम बढेका छन् । त्यसैगरी, घटेर बन्द हुनेमा व्यापार समूहको परिसूचक सर्वाधिक ३ दशमलव ९८ प्रतिशत घटेको छ भने विकास बैंक, वित्त र ‘अन्य’ समूहको परिसूचक १ प्रतिशतभन्दा कम घटेका छन् ।
घोडीघोडा लघुवित्तको शेयरमूल्यमा सर्किट ब्रेक
मंगलवार घोडीघोडा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेर सकारात्मक सर्किट ब्रेक लागेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू ५८ बढेर रू ६३८ पुगेको छ ।