काठमाडौं । खानेपानी मन्त्री बिना मगरले सुरुङबाट आउने मेलम्चीको पानी प्रशोधन गर्ने काम भईरहेको सुन्दरीजलस्थित प्रशोधन केन्द्रको बिहीबार निरीक्षण गरेकी छिन ।
मन्त्री मगरको नेतृत्वमा मन्त्रालयका सचिव माधव बेल्बासे, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक मिलन शाक्य लगायतको टोलीले प्रशोधन केन्द्रको निरीक्षण गरेको हो । पानी प्रशोधन केन्द्रको निरीक्षणसँगै मन्त्री मगरले सुन्दरीजलस्थित सुरुङको समेत निरीक्षण गरिन ।
दोस्रो प्रशोधन केन्द्रको कामलाई तीव्र गतिमा समयमै सम्पन्न गर्न मन्त्री मगरले विभागीय प्रमुखहरुलाई निर्देशन दिइन । उनले अब केही समयमै दोस्रो प्रशोधन केन्द्रको काम सकिने जानकारी दिइन ।
सुन्दरीजलमा बनिरहेको दुईवटा प्रशोधन केन्द्रमा एउटाको काम सम्पन्न भईसकेको छ । अर्को प्रशोधन केन्द्रको काम करिब करिब सकिन लागेको छ । मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी मध्ये साढे ८ करोड लिटरका दुईवटा प्रशोधन केन्द्र सुन्दरीजलमा बनेको छ । मेलम्चीको पानी काठमाडौंमा वितरण गर्नुअघि सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रशोधन गरेर मात्र पठाईनेछ ।
सम्पन्न हुन बाँकी रहेको पानी प्रशोधन केन्द्रको काम आउँदो पुस महिनामा सकिने समितिले जनाएको छ । एउटा प्रशोधन केन्द्र सञ्चालनमा आईसकेको छ । प्रशोधन केन्द्रको निर्माण जाइकाले दिएको ५ अर्ब ७ करोड ८० लाख रुपैयाँको ऋण सहयोगमा बनाइएकोे हो । पहिलो प्रशोधन केन्द्रको काम दुई वर्षअघि नै सकिएको थियो ।
सुरुङ मार्गपछि प्रशोधन केन्द्र मेलम्ची खानेपानी आयोजनाको दोस्रो मुख्य संरचना हो । उक्त केन्द्रबाट पानी प्रशोधन गरेर उपत्यकाका ६ स्थानमा निर्माण गरिएका पोखरीमा पानी जम्मा गरिनेछ ।
त्यसपछि वितरण पाइपबाट घरघरमा पानी पुर्याइनेछ । तर, मेलम्चीबाट प्रत्येक दिन दैनिक १७ करोड लिटर पानी प्रशोधन केन्द्रमा जम्मा हुनेछ ।
केन्द्रबाट प्रशोधित पानी शुद्ध खानेपानी मापदण्ड अनुसारकै हुनेछ । मेलम्ची खोलाको डाईभर्सन स्किम र वितरण प्रणालीको बीचमा यो प्रशोधन केन्द्र अत्याधुनिक प्रविधि प्रयोग गरी बनाइएको छ ।
एउटा केन्द्रबाट दैनिक ८ करोड ५० लाख लिटर पानी प्रशोधन भईरहेको छ । सुरुङ मार्ग हुँदै आउने याङग्री र लार्के खोलाको गरी दैनिक ३४ करोड लिटर पानी प्रशोधन गर्नका लागि उक्त ठाउँमा अर्को प्रशोधन केन्द्र समेत निर्माण हुने समितिका कार्यकारी निर्देशक खत्रीले बताए । सुरुङ हुँदै आउने दैनिक ५१ करोड लिटर पानी प्रशोधन गर्न सुन्दरीजलमा प्रशोधन केन्द्र बनाईएको हो ।