काठमाडौं । काठमाडौं महानगरले माइतीघर मण्डलादेखि तीनकुनेसम्मको साढे २ किलोमिटर सडक खण्डमा साइकल लेनको व्यवस्थापन गर्ने भएको छ । साइकललेनको पूर्वाधार बिकास र लेन सञ्चालनका लागि मंगलबार तयार पारिएको गुरुयोजनाका बिषयमा सरोकारवालासँग मंगलबार अन्तरक्रिया कार्यक्रमा योजनाका बिषयमा जानकारी दिइएको छ ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले भने ‘सहरी स्वास्थ्य र वातावरणीय सुधारका लागि साइकल चाहिन्छ,’ उनले भने ‘साइकलसँगै ठूला सवारी र पैदलयात्रीको यात्रा व्यवस्था पनि तयार पार्नु पर्छ ।’
कार्यक्रममा बोल्दै महानगरको वडा ११ का अध्यक्ष हीरालाल तण्डुकारले ६ बर्ष अघि नै सञ्चालनमा आउनु पर्ने यो ट्र्याक अहिलेसम्म सञ्चालनमा आउन नसक्नुको कारण राजनीतिक नेतृत्व, कर्मचारी प्रशासन र उपभोक्ताबीचको अन्तरसम्बन्ध स्थापना हुन नसक्नुलाई मुख्य कारण रहेको बताए ।
त्यस्तै वातावरणबिद् भुषण तुलाधरले यात्रामा पहिलो प्राथमिकता पैदल यात्रीको हुने बताए । त्यसैले जुनसुकै पूर्वाधार तयार पार्दा पनि पैदल यात्रीलाई लक्षित गर्नुपर्ने उनले बताए । उनले भने ‘एउटा गाडीका लागि आवश्यक ट्र्याकमा ३ वटा साइकल लेन बनाउन सकिन्छ । यी लेनबाट गाडीमाभन्दा धेरै मानिस यात्रा गर्न सक्छन् ।’
काठमाडौंको सडकमा गुड्ने करीव साढे ६ लाख सवारी साधनको १ दशमलव ५ प्रतिशत यात्रु साइकलमा सवार हुने तथ्याङ्क छ । भौगोलिक अवस्था, जलवायु र आकारका दृष्टिले काठमाडौं उपत्यका पैदल यात्रा र साइकल प्रयोगकालागि अनुकूल मानिन्छ । छोटो तथा मध्यम दुरीकालागि सहरका प्रायः जसो सबै ठाउँमा सजिलै हिँडेर र साइकलबाट पुग्न सकिन्छ ।
तर उपयुक्त भौतिक पूर्वाधार तथा नीति नियमको अभावमा यस्ता वातावरणमैत्री यातायात प्रणाली अवलम्बन गर्न सहरवासीलाई कठिनाइ भइरहेको छ । यसबेला माइतीघर तीनकुने साइकल ट्र्याकको सञ्चालन तयारीलाई महत्वका साथ हेरिएको छ ।
यस अगाडी २०७६ मंसिर ८ गतेबाट नै ललितपुर महानगरले साइकल लेन निर्माण् कार्य नै थालनी गरि सकेको छ ।