म्याड्डि (स्पेन) । स्पेनको राजधानी म्याड्डिमा भइरहेको संयुक्त राष्ट्संघीय जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्हरुको सम्मेलन (कोप २५) मा नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार गरिएको छ । सम्मेलनमा भाग लिन आएका एकसय ९३ देशका प्रतिनिधीबिच नेपाल चिनाउने विभिन्न सामाग्री, भिडियो, पोष्टर, पोष्टकार्ड मार्फत नेपालका पर्यटन प्रवद्र्धन गरिएको हो ।
सम्मेलनमा भाग लिन विश्वभरीबाट करिव ३० हजार सहभागी म्याड्डिमा जम्मा भएका छन् । यो सम्मेलन जलवायु परिवर्तनसम्बन्धी मुद्दामा छलफल गर्ने संयुक्त राष्टसंघको एउटैमात्र आधिकारिक र ठूलो सम्मेलन हो । सोही अवसरमा सम्मेलनमै सहभागी हुन आएका विभिन्न देशका प्रतिनिधीहरुबीच स्पेनका लागि नेपाली दूताबास र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयको संयुक्त आयोजनामा छुट्टै छलफल कार्यक्रमसमेत आयोजना गरिएको छ ।
कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, राजदूत दावाफूटी शेर्पा, योजना आयोगका सदस्य डा. केपी ओलीलगायतको समेत सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपाल घुम्ने देशहरुको सबैभन्दा माथिको सूचीमा भएकोले सबैलाई त्यहाँको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सुन्दरता हेर्न नेपाल आउनका लागि आग्रह गरे । उनले नेपालले विश्वलाई देखाउने धेरै चमत्कारिक परिवर्तन गरेको उल्लेख गर्दै पर्यटन प्रवद्र्धन अहिलेको प्रमूख प्राथमिकताको कार्यक्रम रहेको बताए ।
नेपाल घुम्नका लागि आउन र यसको प्रचारका लागि विश्वभरीका सहभागीलाई नेपाललाई सघाइदिन उनले आग्रह गरे । राजदूत शेर्पाले नेपाल घुम्न आउने पर्यटकलाई स्वागत गर्न नेपाली समुदाय संधै आतुर रहने बताउदै भ्रमण वर्ष २०२० मा सरकारले तथा नीजि क्षेत्रलेसमेत विभिन्न अफर ल्याएको जानकारी दिइन् ।
उनले स्पेन लगायतका देशहरुबाट नेपाल घुम्न जाने पर्यटहरुको संख्या उल्लेख्य रहेको बताउदै सबैलाई नेपालको प्रचार प्रसार गरी आर्थिक सम्बृद्धिमा योगदान गर्न सहयोगको अपेक्षासमेत गरेकी छिन् । कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० का सञ्चार तथा प्रवद्र्धन संयोजक पिताम्बर सिग्देलले २०२० का लागि तय गरिएका आकर्षक कार्यक्रम (लाइफ टाइम एक्पिरियन्स) को जानकारी दिईन् । कार्यक्रममा सम्मेलनमा भाग लिन आएका विभिन्न देशका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।