काठमाडौं । देशको अर्थतन्त्रमा साना तथा मझौला उद्योगी महत्वपूर्ण योगदान रहेको र उनीहरुलाई थप प्रोत्साहित गर्न स्थानीय तहमा औद्योगिक ग्राम बनाउन लागेको उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले बताएका छन् ।
नेपालको आन्तरिक स्रोत÷साधन प्रयोग गरेर उत्पादन हुने वस्तुलाई विश्व बजारमा पु¥याउन र स साना लगानीकर्तालाई थप आकर्षित गर्न ३२ स्थानीय तहमा औद्योगिक ग्राम बनाउन लागेको राज्यमन्त्री दुगडले जानकारी दिए ।
‘केन्द्र सरकारले एउटा औद्योगिक ग्राम बनाउन स्थानीय तहलाई ९२ लाख रुपैयाँ दिएको छ । यो धेरै ठूलो रकम होइन्, तर सुखद् सुरुआत हो,’ राज्यमन्त्री दुगडले भने, ‘औद्योगिक ग्राम स्थापनाका लागि दिइएको रकम इन्गेज्मेन्ट मात्रै हो, पछि राज्यले थप लगानी पनि गर्दै जान्छ ।’
देशलाई उद्योगतिर लैजान यसले ठूलो सहयोग गर्ने दुगडको भनाइ छ । न्यून पुँजी हुने तर, त्यहाँबाट उत्पादित सामग्रीको बजार पनि राम्रो भएकाले सरकारले यस्ता उद्यमी÷व्यवसायीलाई प्रोत्साहन गर्न लागेको उनको भनाइ छ ।
‘ठूलो लगानी गर्न सक्दैनन्, बैङ्कहरुले उनीहरुलाई ऋण पत्याउँदैनन्, त्यस्तालाई सरकारले साथ दिन लागेको हो,’ उनले भने, ‘अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका साना उद्योगीलाई उपेक्षा गर्दा देशमा व्यापार घाटा बढेको र निर्यात पनि खुम्चिएको हो ।’ देशभित्र उद्यमशीलता गर्न चाहनको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । नयाँ पुस्ता व्यवसायमा लाग्न सुरु गरेको छन् । गाउँ गाउँमा पनि उद्यमी बन्ने होडबाँजी चलेको छ ।
त्यही उत्साहमाथि थप इटा थप्न सरकारले यस्तो योजना ल्याएको उनको भनाइ छ । त्यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले देश विकासमा साना तथा मझौला उद्यमीको ठूलो योगदान रहेको र उनीहरुलाई संरक्षण गर्न सरकारले यस्तो नीति लिएको बताए ।