काठमाडौं । लाइफ इन्स्योरेन्समा बढ्दो बेथिती न्युनिकरण गर्न जीवन बीमा कम्पनीहरुले आचार संहिता बनाउने तयारी गरेका छन् । सर्वसाधारणलाई बीमा गर्न लोभ्याउन एजेन्टहरुले बिभिन्न अनावश्यक प्रलोभन देखाउने, झुक्याउने प्रबृति बढ्न थालेको गुनासो आएपछि जीवन बिमक सङ्घले त्यसलाई नियन्त्रण गर्न आचार संहिता बनाउन लागेको हो ।
केही दिन अघि शिवनाथ पाण्डेको अध्यक्षमा गठन भएको जीवन बीमा क्षेत्रमा देखिएको बेथिति र अस्वस्थ प्रतिस्पर्धा रोक्न आचार संहिता बनाउन लागेको हो ।
‘आचार संहिता बनाउने काम सुरु भइरहेको छ,’ सङ्घका एक सदस्यले भने, ‘स्वनियमन गर्न र जनतालाई सर्वसाधारण बिमाप्रति आकर्षित गर्न आचार संहिता बनाएर अघि बढ्न लागिएको हो ।’
जीवन बीमा कम्पनीका एजेन्टहरुले बीमा गराउन सर्वसाधारणलाई अनावश्यक दबाब दिने, लोभ देखाउने, आश्वासन दिने गरेको पाइन्छ । जसले गर्दा बीमा एजेन्ट भन्ने बित्तिकै सर्वसाधारणहरु बहाना बनाउदै भाग्ने अवस्था सिर्जना भएको छ ।
यो क्षेत्रमा देखिएको यस्ता बेथीतिले बीमामा हुनुपर्ने जति आकर्षण नभएको संघको ठहर छ । बीमा व्यवसायलाई मर्यादित बनाउन तथा भइरहेका बिकृती रोक्न पनि आचार संहिता आवश्यक देखिएको हो ।
‘अर्बौ रुपैयाँ लगानी भएको क्षेत्रमा केही समयदेखि बेथिति र विकृत्ति मौलाएको छ’ ती सदस्यले भने, ‘जनतालाई इन्स्योरेन्स गराउने नाममा हुँदै नभएको स्किम छ भनेर देखाउने, झुक्याउने र यो क्षेत्रलाई बदनाम गराउने काम भइरहेको छ । त्यसैलाई रोक्न आचार संहिता बनाउन लागिएको हो ।’
जीबन बिमाप्रति भरखरै अभ्यस्त हुन लागेका बजारमा कम्पनी आफैले बीमा नगराउने वाताबरण बनाउन थाले पछि सङ्घ नै बनाएर अघि बढ्नु परेको ती सदस्यको भनाइ छ ।
बिमा गराउने बेलामा विभिन्न स्किमको लोभ देखाउने, दोब्बर रकम हुन्छ भनेर आश्वस्त पार्ने र पछि दिने बेलामा भनेजति रकम पनि नदिने र उल्लेख गरिएको स्किम समेत नहुने गरेको सर्वसाधारणको गुनासो छ ।