काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले ढुक्कसँग काम गर्ने वातावरणको सिर्जना भए मात्र देशमा समृद्धि प्राप्त हुने बताएका छन् ।
दार्चुलामा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय महोत्सवलाई सम्बोधन गर्दै ढकालले निजी क्षेत्रलाई सरकारले विकासको साझेदारका रुपमा लिएर हातेमालो गरेर अघि नबढ्दासम्म देशमा समृद्धि सम्भव नहुने बताएका हुन् ।
नेपालका तीनओटै तहका सरकारले निजी क्षेत्रसँग सही अर्थमा र व्यावहारिक रुपमा साझेदारी गर्न सकेमा प्रदेशस्तरमा लगानी भित्रिने उनको भनाई थियो ।
नेपालको आर्थिक विकास तथा समृद्धिको यात्रामा निजी क्षेत्रको आवश्यकता र महत्वमाथि प्रकाशपार्दै उनले भने, ‘देश विकासको तीन खम्बे अर्थनीतिमा निजी क्षेत्र एक दरिलो खम्बा हो र यससँगको सहकार्य र साझेदारीबाट मात्र देश समृद्ध बन्न सक्छ ।’
उपाध्यक्ष ढकालले आर्थिक क्षेत्र, व्यावसाय, श्रम, कर आदिका विषयमा नियम कानूनहरु निर्माण गर्दा सरोेकारवाला निजी क्षेत्रसँगको सल्लाह र परामर्शबाट ल्याउन सकिएमा राज्य र नेपाली नागरिक लाभान्वित हुने बताए ।
कार्यक्रमका प्रमुख अतिथि इश्वर पोखरेललाई स्थानीय व्यवसायीहरुले स्थानीय स्तरका गुनासाहरु राखेपछि नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षका हैसियतले ढकालले सो धारणा राखेका हुन् ।
कृषि, जडिबुटी, जैविकि विविधता तथा अरु धेरै क्षेत्रमा देशको सुदूरपश्चिम क्षेत्र धेरै सम्पन्न भएकोले आगामी यस्ता मेला महोत्सवहरुमा ती उत्पादनहरुले नै स्थान पाउन् भनी सुझाव पनि दिए ।