कामदार पठाउने मोडालिटी तय गर्न श्रममन्त्री यादव मंगलवार मौरिसस जाँदै

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ फागुन १२, साेमबार,०६:४३:PM  
कामदार पठाउने मोडालिटी तय गर्न श्रममन्त्री यादव मंगलवार मौरिसस जाँदै

काठमाडौं । कामदार पठाउने मोडालिटी तय गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादव मंगलबार मौरिसस जाने भएका छन । श्रम समझदारी भएको १० महिना बितिसक्दा समेत कामदार पठाउने प्रक्रिया टुङ्गो नलागेपछि श्रममन्त्री यादव आफैं मौरिसस जान लागेका हुन ।

नेपाल र मौरिससबीच २०७६ जेठमा श्रम समझदारी भएको थियो । श्रम समझदारीको बेला कुन मोडलमा कामदार पठाउने र वार्षिक श्रमिक कति लिने विषयमा टुङ्गोमा पुगेको थिएन । पूर्व श्रममन्त्री गोकर्ण विष्ट र मौरिससका श्रम, औद्योगिक सम्वन्ध, रोजगार तथा तालिममन्त्री सुदेश एस क्यालीचर्नबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

मौरिससमा रहँदा श्रममन्त्री यादवले त्यहाँका श्रम मन्त्री, सरकारी निकायका अधिकारीहरुसँग छलफल गर्नेछन । मौरिससले होटल, अतिथि सत्कार र उत्पादनमुलक (म्यानफ्याक्चरिङ)का क्षेत्रमा कामदार लिने बताएको थियो । मौरिससको हावापानी, धर्म र संस्कृति नेपाली कामदारका लागि अनुकुल रहेका कारण नेपाली कामदारको लागि उपयुक्त देश हुने विश्वास श्रमका अधिकारीहरुले लिँदै आएका छन ।  

मौरिससमा विशेषगरी भारतीय मुलुकका नागरिकको बसोबास छ । अफ्रिकाको नजिक र हिन्द महासगर भित्र पर्ने यो देश खाडी मुलुकभन्दा दक्षिण भागमा पर्दछ । सामुन्द्रिक टापुमा रहेका कारण ती मुलुकमा वार्षिक रुपमा धेरै पर्यटक जाने गरेका छन । मौरिससमा अहिले पनि केही नेपालीहरु काम गर्न गइरहेका छन । राम्रो सेवा तथा सुविधा हुने भएकाले पछिल्लो समय धेरै नेपालीहरु त्यस देशमा जान इच्छा देखाइरहेका छन ।

सम्झौताअनुसार, मौरीससमा ‘फ्रि भिसा फ्रि टिकट’ मा नेपाली कामदार जान पाउने छन । कामदार लैजादा लाग्ने शुल्क त्यहाँको रोजगारदाता कम्पनीले व्यहोर्ने सहमति भएको छ । यस्तै, म्यानपावर कम्पनीमार्फत नै त्यस देशमा कामदार पठाइने भएको छ । 

समझदारीपत्रको प्रभावकारी कार्यान्वयन र कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा लाग्ने आइटमगत लागत निर्धारण गर्ने लगायतका विषय दुई देशका प्रतिनिधिहरु संलग्न संयुक्त वैठकबाट तय गरिने सहमति भएको थियो ।


 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top