काठमाडौं । निर्माणधिन ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत आयोजनाबाट वैशाखसम्म बिजुली बल्ने भएको छ । आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
आयोजनाले बाँधमा पानी भर्ने काम सुरु गरेको छ । एक महिनाभित्र परीक्षण उत्पादन गरी अप्रिलसम्म आयोजनाबाट बिजुली उत्पादनको लक्ष्य रहेको ठेकेदार हाइहिमाल हाइड्रो कन्ट्रक्सनका प्रवन्ध निर्देशक ताराप्रसाद सापकोटाले बताए । उनका अनुसार नेपाल विद्युत प्राधिकरणले कालिगण्डकी करिडोर प्रसारणलाइन बनाउन ढिलाइ गर्दा आयोजना पनि पछि धकेलिएको हो ।
आयोजनाको मुख्य काम सकिएको छ । बाँध, विद्युतगृह, सुरुङ र पाइपलाइन र इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम सकिएको छ । विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब–स्टेशन बनाउन ढिलाइ गर्दा आयोजना पछि धकेलिएको हो ।
आयोजनाको लागत प्रतिमेगावाट साढे १३ करोड रुपैयाँ रहेको अनुमान गरिएको छ । आयोजना बनाउन ५ अर्ब ६७ करोड रुपैयाँ लागेको अनुमान गरिएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकले ७० करोड, हाइड्रो इलेक्ट्रिसिट इन्भेस्टमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीए) ले १ अर्ब र नेपाल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन ।
यसैगरी नविल बैंकले १ अर्ब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र तत्कालिन एस डेभलभमेन्ट बैंक हालको नेपाल इन्भेस्टमेन्टको ३० करोड रुपैयाँ ऋण लगानी रहेको छ ।
सन २०१६ को जुन १३ मा आयोजनाको सुरुङ निर्माणको काम शुरु भएको हो । बाँधतर्फ ९२६ मिटर र आउटलेटबाट १ हजार ३४४ मिटर सुरुङ खनेको छ । म्याग्दीको नारच्याङको बेशीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युतगृह निर्माण गरेको छ ।
निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध निर्माण भएको छ । पहाडभित्र १३५ मिटर सुरुङ खनेर खोलाको पानीलाई डाईभर्सन गराएर बाँध निर्माण गरिएको हो । मिस्त्रीखोलाको पानी थिग्राउने पोखरी र नहर भूमिगत छ ।
पहाडभित्र ११५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको दुई वटा बालुवा थिग्राउने भूमिगत पोखरी बनाइएको छ । आउटलेटदेखि बाँधसम्म एक हजार ५०० मिटर दुई मिटर गोलाइको पेन स्टक पाइप जडान भएको छ ।
आयोजनाले नारच्याङ बेशीगाउँदेखि बाँधसम्म पुग्ने ६ किलोमिटर सडक र तीन वटा बेलीब्रिज निर्माण गरेको छ । आयोजना अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा छ ।