काठमाडौं । कुनैबेला काठमाडौं उपत्यकामा सडककै दूरावस्था र खाल्डाखुल्डीका कारण सवारी दुर्घटनाका घटना धेरै हुने गर्थे । अहिले उपत्यकाका सडकका खाल्डाखुल्डी पुरिएका छन् । सडक धमाधम कालोपत्रे सँगै सडकको मापदण्ड तथा व्यवस्थापन हुँदै गएको छ । त्यतिमात्रै होइन्, ट्राफिक सचेतनाका कार्यक्रमले पनि सडक दुर्घटना न्युनीकरणमा भूमिका खेलेको छ ।
अहिले ट्राफिकसम्वन्धी जानकारी र दुर्घटना न्युनीकरणका लागि ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न सडकका चोक–चोकमा पुगेर माइकिङ गर्ने गरेको छ । त्यस्तै, ट्राफिक प्रहरीले सवारी चालक तथा यात्रुमाझ पुगेर सारङ्गी बजाएर सांगीतिक रुपमा ट्राफिक नियमका बारेमा सचेत गराइरहेको छ ।
गतवर्षदेखि ट्राफिकले सडकका चाेक चाेकमा गएर मादल र सारंगी बजाएर यात्रुहरूलाइ सचेत गराउँदै अाएकाे छ । यी यावत कार्यक्रम र सडक पूर्वाधार व्यवस्थापन सुधार भएकाले पनि सवारी दुर्घटनामा ६० प्रतिशत कमी आएको बताउँछन् महानगरी ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकाल । आवागमन सहज र दुर्घटना नहोस भनेर सवैखालका उपायहरु गरिरहेको उनी बताउँछन् । सडकमा सारङ्गी बजाएर हिड्नेदेखि सडकको ‘क्लास’ लिनेदेखि लिएर, माइकिङ, नागरिक प्रहरी साझेदारी अभियान र ट्राफिक सचेतना कक्षा लगायतका कार्यक्रमबाट सवारी दुर्घटना न्युनीकरण हुन सकेको ढकाल बताउँछन् ।
गतवर्षभन्दा चालू आवको माघसम्म सडक दुर्घटनाबाट मानवीय क्षति ६० प्रतिशतले घटेको ढकाल बताउँछन् ।
ट्राफिक प्रहरीका अनुसार, गत आर्थिक वर्ष २०७५÷०७६ मा उपत्यकाभित्र ८ हजार ५११ ओटा सवारी दुर्घटना भए । जसबाट २५४ जनाले सडक दुर्घटनाका कारण ज्यान गुमाए । चालू आव २०७६÷०७७ को माघ मसान्तसम्म ७५०० ओटा सवारी दुर्घटना भएर १०५ जनाले मात्रै ज्यान गुमाए । अर्थात सवारी दुर्घटनाबाट ज्यान गुमाउने ६० प्रतिशतले कमी आएको छ ।
पाँचबर्षमा ३१ हजार दुर्घटना, १०३४ जनाले ज्यान गुमाए
चालकको लापरबाही र तीव्र गतिमा सवारी गुडाउँदा सवैभन्दा बढि सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरी बताउँछ । पछिल्लो पाँच वर्षको अवधिमा काठमाडौं उपत्यकामा मात्रै ३१ हजार भन्दा बढि सवारी दुर्घटना भएका छन् । ती दुर्घटनाबाट १०३४ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्यांक छ ।
अहिले ट्राफिक व्यवस्थापन गर्न प्रधानमन्त्री कार्यालयमा सर्वदलीय कमिटी गठन भएको छ । ट्राफिकमैत्री भौतिक पूर्वाधार सुधार गर्न ३७ बुँदे कार्ययोजना बनाइएको छ । उक्त कार्ययोजना कार्यान्वयनका लागि सवै सरकारी निकायले काम आ—आफ्नो क्षेत्रको काम गरेकाले पनि दुर्घटना न्युनीकरणमा केही सहज भएको ट्राफिक प्रहरीको दाबी छ ।
कलंकी—कोटेश्वरमा नयाँ नियम
चीन सरकारबाट निर्मित कलंकी—कोटेश्वर ८ लेनको सडकमा अत्याधिक दुर्घटना हुने गरेका थिए । दुर्घटना न्युनीकरण गर्नका लागि आगामी चैत २ गतेदेखि सो लेनमा ट्राफिक प्रहरीले नयाँ मापदण्ड लागू गर्दैछ । मालबाहक तथा यात्रुबाहक खालका कम गतिमा चल्ने सवारीले दायाँ लेन र निजी तथा तीव्र गतिमा गुड्ने सवारीले दायाँ वा छुट्टै लेन प्रयोग गर्नुपर्ने भएको छ ।
सो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना हुने गरेको प्रहरीको दाबी छ । त्यस्तै, सोही सडकमा ३ ओटा आकाशेपुल बनाइनेछ । सडक विभाग, काठमाडौं र ललितपुर महानगरको समन्वयनमा सडक बत्ती जडान गर्ने योजना पनि अघि बढेको छ ।