काठमाडौं । बोलीका भरमा अर्बौ रुपैयाँ कारोबार गर्दै आएका नेपाली व्यवसायीलाई विदेशी व्यापारीले उधारो पत्याउन छाडेका छन् । विश्वभर महामारीक रुपमा नोबेल कोरोना भाइरस (कोभिड १९) फैलिएपछि नेपालीलाई विदेशी व्यापारीले बोलीको भरमा सामान दिन छाडेका छन् ।
‘विदेशी व्यापारीले उधारो दिन छाडेका छन्,’ एक नेपाली व्यवसायीले भने, ‘यस अघिसम्म उनीहरुसँग मौखिक रुपमा अर्बौ रुपैयाँ कारोबार गरिरहेका थियौ । उनीहरुसँग उधारो लिएको तिरेका पनि थियौ । तर, अहिले उधारो दिँदैनौ भन्न थालेका छन् ।’
कोरोनाको सङ्क्रमण बढ्दै गएपछि उनीहरुले पनि उधारो वा मौखिक कारोबार बन्द गर्न थालेको ती व्यापारी बताउँछन् । नेपाली व्यापारीले भारतीय व्यापारीसँग अर्बौ रुपैयाँ मौखिक वा बोलीको भरमा कारोबार गर्दै आएका थिए । तर, केही दिनदेखि भारतीय व्यापारीले उधारो दिन छाडेका छन् ।
कोरोनाका कारण विश्व अर्थतन्त्र दिन प्रतिदिन खुम्चिँदै गएको र व्यापारीले पनि अर्को देशको व्यापारीसँग विश्वास गर्न नसकेपछि यस्तो अवस्था आएको व्यापारीहरु बताउँछन् ।
‘अहिले उधारो दियो । पछि केही भएर उठ्न सकेन भने ठूलो लगानी जोखिममा पर्छ भनेर हो कि के हो ? अहिले उधारो वा बोलीमा हुने कारोबार विस्तारै रोकिँदै गएको छ’ ती व्यापारी भन्छन्, ‘खासगरी भारतसँग यस्तो कारोबार बढी हुन्थ्यो ।’
तुरुन्त सामान चाहियो भने भारतीय पाटीलाई फोन गर्ने सामान झिकाउने पछि भुक्तानी गर्ने प्रचलन धेरै पहिले देखि चल्दै आएको हो । तर, अहिले कोरोना भाइरसका कारण त्यो चक्र पनि बिग्रिएको व्यापारीहरु बताउँछन् ।
कोरोनाका कारण व्यापारको चक्र नै बिग्रिएको छ । त्यसैको असर बोलीमा पनि विश्वास गर्न छाडेका छन् । अहिले भारतसँगै मात्रै होइन्, विश्वका अन्य मुलुकसँग पनि व्यापारिक चक्र नराम्ररी प्रभावित भएको उद्योगी÷व्यवसायी बताउँछन् ।
खासगरी, नेपाली र भारतीय व्यापारीबीचमा बोलीको भरमा ठूलो कारोबार हुने गर्छ । भारतीयलाई चाहिने सामान नेपालबाट पठाउने र नेपालीलाई चाहिने सामान भारतीय व्यापारीले पठाउने गरेका थिए । तर, अहिले त्यस्तो चक्रमा गम्भीर धक्का लागेको छ ।