काठमाडौं । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले उद्योगी/व्यवसायीलाई आपूर्ति सहज बनाउन निर्देशन दिए पनि उनी मातहतको प्रहरीले नै आपूर्ति असहज बनाइरहेका छन ।
सरकारले दैनिक उपभोग्य वस्तुको आयात र आपूर्ति सहज बनाउन नीतिगत रुपमा रुपमा काम गरे पनि गृह मातहत रहेको प्रहरीले खाद्यान्न तथा ग्यास पसल तथा ढुवानीका गाडी रोक्दा आपूर्ति खल्बलिएको हो । प्रहरीको तल्लो तहमा बुझाई कम भएकाले बजारमा आपूर्ति व्यवस्था असहज बन्दै गएको छ ।
गृहसचिव न्यौपानेले दैनिक उपभोग्य वस्तुका पसल निर्वाध रुपमा खोल्न दिन प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई निर्देशन दिएको बताए ।
‘अत्यावश्यक ढुवानीका साधन र दैनिक उपभोग्य वस्तुका पसल खुलाउन निर्देशन दिएका छौं,’ सचिव न्यौपानेले भने, ‘प्रहरीको तल्लो तहमा बुझाइ कम भएको हुन सक्छ । ड्युटीमा खटाउनुपूर्व उनीहरुलाई राम्रोसँग ब्रिफिङ गर्न महानिरीक्षक ज्ञवालीलाई निर्देशन पनि भएको छ ।’
सरकारले आपूर्तिलाई सहज तुल्याउन उद्योगी व्यवसायीलाई पनि निर्देशन दिएको छ । उद्योगी व्यवसायीले प्रहरीको अवरोधका कारण दैनिक उपभोग्य वस्तुको पसल खोल्न अप्ठयारो परेको बताएका छन् ।
गृह मातहतको निकायले समन्वय नगर्दा आपूर्ति व्यवस्था बिग्रिएको आपूर्ति मन्त्रालयको बुझाई छ । खासगरी, खाद्यान्न, पानी, औषधि, ग्यासलगायतका पसल सञ्चालन गर्न सरकारले नीतिगत रुपमा निर्णय गरिसकेको छ । तर, फिल्डमा पसल खोल्न प्रहरीले रोक्दै आएको छ ।