काठमाडौं । बैंकहरुले आफनो कोषबाट थप ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न सक्ने भएका छन । नेपाल राष्ट्र बैंकले अनिवार्य नगद अनुपात (सीआरआर) लाई १ प्रतिशत घटाएका कारण बैंकहरुको लगानी क्षमता विस्तार भएको हो ।
केन्द्रीय बैंकले आइतबार १९ बुँदे निर्देशन जारी गरी सीआरआरलाई घटाएर ३ प्रतिशत कायम गरेको जानकारी दिएको छ । यसअघि सीआरआर ४ प्रतिशत थियो ।
२ वर्षअघि बैंकहरुमा क्रेडिट क्रञ्चको समस्या आएपछि लगानीयोग्य पुँजी बढाउन केन्द्रीय बैंकले त्यसबेला पनि सीआरआर घटाएको थियो ।
सीआरआर अनुपात घटेपछि बैंकहरुको लगानी क्षमता थप विस्तार भएको राष्ट्र बैंकका प्रवत्ता डा. गुणाकर भट्टले बताए । बैंकहरुको लगानी क्षमता बढाउन यस्तो व्यवस्था गरिएको उनले जानकारी दिए । सीआरआर सीमा घटेपछि आधारदर पनि कम आउने र ब्याजदर पनि घट्ने भट्टले जानकारी दिए ।
आइतबार कोरोना भाइरसको माहामारीबाट प्रभावित उद्योग तथा व्यवसायलाई लक्षित गरी ल्याएको सहुलियत योजनामा केन्द्रीय बैकले बैंकदर पनि १ प्रतिशत घटाएको छ ।
राष्ट्र बैंकबाट तरलता सुविधाका लागि बैंकहरुले अब ५ प्रतिशत बैंकदरमा कर्जा पाउने भएका छन । यसले पनि कर्जाको ब्याजद घटाउन सघाउ पुग्ने उनको भनाई छ । यसअघि बैंकदर ६ प्रतिशत थियो ।
कोरोना भाइरस महामारीबाट बैंकहरुलाई जोगाउन यसअघि केन्द्रीय बैंकले ल्याएको काउन्टर साइक्लिकल वफरको व्यवस्थालाई हटाएको छ । केन्द्रीय बैंकले आउँदो असारसम्म काउन्टर साइक्लिकल वफरका लागि थप २ प्रतिशत पुँजीको व्यवस्था गर्नुपर्ने थियो ।
यसले बैंकहरुलाई थप कर्जा दिन समस्या भएको थियो । बैंकहरुले पनि कर्जा विस्तारका लागि यो व्यवस्था हटाउन माग गर्दै आएका थिए । यो व्यवस्थाअनुसार वफरमा १३ प्रतिशत पुँजी पुग्ने थियो । जसले बैंकहरुको लगानी क्षमता थप घटाउने थियो ।
यो व्यवस्थाअनुसार भोलीका दिनमा कर्जा प्रवाह बढाउनका लागि वफर हटाइएको भट्टले बताए । ‘थप २ प्रतिशत पुँजी नजुटाइ थप लगानी गर्न नपाइने व्यवस्था थियो अब त्यो हटेको छ’ भट्टले भने ‘अब थप पूँजी नजुटाइकन बैंकहरुले थप लगानी गर्न सक्ने भएका छन ।’ हाल बैंकहरुमा पुँजी पर्याप्तता अनुपात राम्रो रहेको छ ।