काठमाडौं । सरकारले आफ्ना कामदारलाई सुरक्षित राखेर ठूला आयोजना सञ्चालन गर्न दिन्े निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले
ठूला आयोजना सञ्चालन गर्न खुला गरेको हो ।
आफ्ना कामदारलाई सुरक्षित राखेर माथिल्लो तामाकोसी जलविद्युत आयोजना, मेलम्ची खानेपानी आयोजनालगायतका ठूला परियोजान सञ्चालन गर्न दिने विषयमा निर्णय भएको गृहसचिव महेश्वर न्यौपानेले जानकारी दिए ।
‘आफ्ना कामदारलाई सुरक्षित रुपमा राख्ने, बाहिर निस्किन नदिई काम सञ्चालन गर्न दिने निर्णय भएको छ,’ उनले भने, ‘अत्यावश्यक उद्योग यस अघि नै चलाउन खुला गरिएको छ । अन्य उद्योगको हकमा कुनै निर्णय पनि भएको छैन ।’ यद्यपि, बैठकमा उद्योग सञ्चालन गर्न दिने वा नदिने विषयमा छलफल मात्रै भएको थियो । त्यसबारे कुनै निर्णय नभएको न्यौपानेले बताए ।
अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कामदारलाई सुरक्षित राखेर चलाउन दिने र स्थानीय प्रशासनले त्यस किसिमको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको जानकारी दिए ।
अब तामाकोशी, मेलम्चीलगायतका ठूला आयोजनामा काम गर्ने कामदारलाई भित्र नै सुरक्षाको व्यवस्था मिलाई काम गर्न सकिने खतिवडाले बताए । त्यसैगरी, हिउँदे बाली काट्ने र बर्षे बाली गर्ने लगायत कृषि कार्यका लागि वाह्य कृषि श्रमिक नल्याई काम गर्न अवरोध नगर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले अत्यावश्यक औषधि, दैनिक उपभोग्य सामग्री तथा खाद्य सामाग्रीको सहज आपूर्ति गराउनका लागि आवश्यक ढुवानीका साधन सञ्चालन गर्न दिईने भएको छ ।
यस्तै बैठकले नेपाल भारत सीमास्थित क्वारेन्टाईनमा बसेकालाई अप्ठ्यारो पर्न नदिने गरि दुवै तर्फबाट आपसमा सहयोग गरि सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाईनमा राखेर मात्रै सिमा पार गर्न दिने गरि व्यवस्था मिलाउने निर्णय गरेको छ ।
खतिवडाले जीटुजी मार्फत स्वास्थ्य सामाग्र किन्ने बारेमा पनि छलफल भईरहेको बताए ।