काठमाडौं । सरकारले विलासिताका सवारीसाधानलगायतका अन्य वस्तु आयातमा कडाई गरेपछि मुलुकको व्यापारमा केही सन्तुलन देखिएको छ ।
वाह्य व्यापारमा केही हदसम्म सन्तुलन आएपछि यसको सकरात्मक असर चालुखाता घाटामा परेको छ । सुधारिएको व्यापार सन्तुलनले चालुखाता घाटा अघिल्लो वर्षको सोही अवधिको भन्दा ५० अर्ब रुपैयाँ अर्थात ५० करोड डलर घटेको छ । अहिले चालुखाता घाटा १ खर्ब रुपैयाँ अर्थात १ अर्ब डलरमा सीमित भएको एसियाली विकास बैंक (एडीबी) ले जनाएको छ ।
यद्यपी, आयातमा नियन्त्रण गर्दा सरकारलाई राजश्व संकलनमा कमी आउने देखिएको छ । हालसम्म सरकारले लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षको पहिला सात महिनामा वस्तु व्यापार घाटा खुम्चिएर ४.९ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्ष १५ प्रतिशत थियो । खासगरी भारतमा पाम आयल र अलैंचीको निर्यातमा उच्चवृद्धि र निर्माण सामग्री, सवारी साधन तथा पेट्रोलियम पदार्थको घट्दो आयातले गर्दा व्यापार घाटामा सङ्कुचन आएको छ ।
सरकारले हालै ५० लाख रुपैयाँ अर्थात ५० हजार डलर भन्दा महंगा विलासिताका सवारीसाधन, काजु, किसमिस, मरिच, सुपारी, छोकडा र पेस्ता जस्ता मसलाजन्य वस्तुको आयातमा प्रतिवन्ध लगाइसकेको छ ।
यसैगरी सुन आयात कोटा ५० प्रतिशत घटाई दैनिक २० किलोबाट १० किलोमा झारिएको छ । भारतले पाम आयललाई खुला गरेपछि निकास बढाउन सहयोग गरेको छ ।
सरकारले साउनदेखि सवारीसाधानलगायत केही वस्तुमा कडाइ गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले छोकडा, काजु, किसमिसलगायत मसालाजन्य वस्तु २ वर्षलाई धान्ने गरी आयात भइसकेकाले प्रतिवन्ध लगाएको बताएका छन ।
कोरोना भाइरस संक्रमणको त्राश बढेपछि मुलुक अहिले लकडाउनमा छ । यसले पेट्रोलियम पदार्थको माग घटेकाले आयातमा कमी आएको छ । यस्तै गाडीलगायत अन्य विलासिताका वस्तु आयातमा बन्द भएको छ । यसले चालुखाता घाटा कम गर्न अझ सघाउ पर्ने देखिएको छ ।
पेट्रोलियम पदार्थ, पुँजीगत तथा उपभोग्य वस्तुको आयातमा कमी आउँदा यो घाटा आर्थिक वर्ष ०७५/०७६ (सन् २०१९) को कुल गार्हस्थ उत्पादन (जीडीपी) को ७.७ प्रतिशबाट ५.४ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ ।
आर्थिक ०७६/०७७ (सन २०२०) को अन्तिम त्रैमासमा विप्रेषण(रेमिट्यान्स) मा उल्लेख्य कमी आयो भने चालुखाता घाटा अझ बढ्ने सम्भावना रहेको एडीबीले औल्याएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या कमी भएकाले रेमिट्यान्स आप्रवाहमा कमी आइसकेको छ ।