काठमाडौं । कोरोना भाइरसबाट थप ३ जना संक्रमित भएपछि सरकारले लकडाउनलाई अझै कडा बनाएको छ । संक्रमितको संख्या बढ्दै जाँदा सरकारले लकडाउनलाई अझ कडा बनाउदै लगेको हो ।
शनिबार बसेको मन्त्रिपरिषद बैठकले एउटा प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को जिल्ला तथा एउटा स्थानीय तहबाट अर्को स्थानीय तहबीचको आवागमनलाई रोक्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठक सुरु, लकडाउन बढाउने विषयमा छलफल
कोरोना भाइरसबाट संक्रमितको संख्या ९ पुगेको छ । जसमध्ये एक जना उपचारपछि घर गइसकेका छन । मन्त्रिपरिषद बैठक सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङ्गमा कोरोना भाइरसको र्यापिड टेष्ट गर्ने भएको छ ।
मन्त्रिपरिषद् बैठकले संक्रमण देखिएका कैलाली, कञ्चनपुर र बाग्लुङ्ग जिल्लामा र्यापिड टेष्ट गर्ने निर्णय गरेको हो ।
सुदूरपश्चिममा भेटिए थप ३ कोरोना संक्रमित, नेपालमा पुगे ९ जना
ती जिल्लामा ठूलो संख्यामा कोरोना भाइरसको नमूना परीक्षण गर्ने र शंका लागेकालाई पीसीआर प्रविधिबाट पुनः परीक्षण गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता, अर्थ, सुचना, संञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
त्यसैगरी स्वास्थ्यकर्मीहरुको मनोबल वृद्धि गर्नका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिनुको साथै स्वास्थ्य सुरक्षाका उपकरणहरु यथासंभव छिटो उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।
उपचारको क्रममा स्वास्थ्यकर्मीमाथि बाधा उत्पन्न गराउने तथा स्वास्थ्यकर्मीको सुरक्षामा आँच पुर्याउने काम भए त्यस्ता व्यक्तिलाई कारवाही गरी स्वास्थ्यकर्मीको सुरक्षाको उचित व्यवस्था मिलाउन स्थानीय सरकारलाई निर्देशन दिइएको छ ।
त्यसैगरी, सजाय निर्धारण गर्ने समितिमा बाहिरका विज्ञ व्यक्ति राख्ने व्यवस्था अनुसार सरकारले रविन्द्र भट्टराई र कुन्साङ लामालाई नियुक्त गरेको छ । अपराध पीडित संरक्षण समितिमा विज्ञ रहने गरी डा. शंकरकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।