काठमाडौं । आवागमनमा लगाएको प्रतिबन्ध (लकडाउन) लाई अझ प्रभावकारी बनाउन सरकारले विदेशबाट फर्किएका र क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षण गर्ने भएको छ।
नेपालभित्रै सङ्क्रमण सरेको पहिलो घटना पुष्टि भएपछि तथा भारतबाट फर्किएका अन्य दुई व्यक्तिमा सङ्क्रमण भेटिएपछि मन्त्रिपरिषद्को बैठक शनिवार अपराह्ण बसेको थियो। बैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका कदमको समीक्षा गरेको थियो ।
कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले सरकारले लकडाउनलाई अझ कडा बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए। उनका अनुसार मन्त्रिपरिषद्को अर्को बैठकले लकडाउनबारे निर्णय गर्नेछ।
यसअघि सुरुमा चैत ११ गतेदेखि १८ गते बिहानसम्मको निम्ति लगाइएको प्रतिबन्ध एक साता थपेर चैत्र २५ गते मध्यरातसम्म पुर्याइएको थियो। अन्तर्राष्ट्रिय उडानमा वैशाख ३ गतेसम्म रोक लगाइएको छ।
यस्ता छन मन्त्रिपरिषद्का निर्णय
लकडाउनलाई अझ पूर्ण पालना गराउन विभिन्न निकायले प्रभावकारी भूमिका निर्वाह गर्न र एक प्रदेशबाट अर्को, एक जिल्लाबाट अर्को र एक स्थानीय तहबाट अर्को तहमा आवागमन गर्न नदिने
कैलाली, कञ्चनपुर र बागलुङमा सम्भावित सङ्क्रमितको छिटो विधिबाट परीक्षण गर्ने र सङ्क्रमणको आशङ्का भएकाहरूको पुनः परीक्षण गर्ने
स्वास्थ्यकर्मीहरूको मनोबल बढाउन बीमाको व्यवस्थादेखि प्रोत्साहन भत्ता दिने तथा स्वास्थ्य सुरक्षाका उपकरण छिटो उपलब्ध गराउने
स्वास्थ्यकर्मीलाई सुरक्षाको व्यवस्था गर्ने
सुदूरपश्चिम प्रदेशका थप तीन जनामा सङ्क्रमण भएको शनिवार पुष्टि गरिएको थियो। तीमध्ये विदेशबाट आएका आफन्तबाट एक महिलामा भाइरस सरेको बताइएको छ।
त्यससँगै कोरोनाभाइरसको सङ्क्रमण नेपालमा दोस्रो चरणमा प्रवेश गरेको अधिकारीहरूले बताएका छन्। अन्य आठजना सङ्क्रमित भारत र अन्य मुलुकबाट नेपाल आएकाहरू हुन्।