काठमाडौं । स्वदेशी बजारको माग ६० प्रतिशतसम्म धानेको जुत्ताचप्पल उद्योग कोरोना भाइरस संक्रमणको असरले धरासायी अबस्थामा पुगेको छ ।
जुत्ताचप्पल उद्योगीहरुको छाता संगठन फुटवेयर मेनुफेक्चरर्स एसोसिएसन अफ नेपालका अनुसार अहिले देशभर १ हजार ५०० भन्दा बढी उद्योगले जुत्ताचप्पल उत्पादन गर्दे आएका छन् ।
एसोसिएसनका अनुसार कोरोनाको संक्रमणका कारण भइरहेको लकडाउनले दैनिक झण्डै ७ करोडदेखि १० करोडसम्म क्षति भइरहेको छ । यस उद्योगमा प्रत्यक्ष रुपमा ५० हजारभन्दा बढि व्यक्तिहरुले रोजगारी पाइरहेका छन् ।
कारोना संक्रमणका कारण जुत्ताचप्पल उद्योग बन्द हुँदा ती श्रमिकहरु समस्यामा छन् । उनीहरुको व्यवस्थापनमा समस्या देखिएको छ ।
संघका अनुसार जुत्ताचप्पल उद्योगहरुमा ५० अर्ब रुपैयाँभन्दा बढि लगानी छ । कच्चा पदार्थ आपूर्तिकर्ता, स्टकिस्ट, डिलर, रिटेललगायतको क्षेत्र समेत हेर्ने हो भने यस क्षेत्रमा अर्बौं रुपैयाँको लगानी छ । अधिकांश उद्योग बैंक तथा वित्तीय संस्थाबाट ऋण लिई संचालन भएका छन् ।
जुत्ता चप्पललाई आवश्यक पर्ने कच्चा पदार्थमध्ये ३० प्रतिशतमात्र स्वदेशी प्रयोग हुन्छ । एउटा जुत्ता उत्पादन गर्न धेरै प्रकारका कच्चा पदार्थ चाहिने भएकाले स्वदेशी कच्चा पदार्थले एक प्रतिशत पनि जुत्ताचप्पल उत्पादन हुँदैन । धेरै जसो कच्चा पदार्थ चीन र भारतबाट आयात हुने गर्छ ।
चीनबाट आयात हुने कच्चा पदार्थ चिनियाँ नयाँ वर्षको लामो विदाका कारण डिसेम्वर दोश्रो सातादेखि आयात हुन सकेको छैन । त्यसपछि कोरोना भाइरसको प्रकोपले कच्चा पदार्थ आउन नसक्दा कतिपय उद्योगहरु एक महिनादेखि नै वन्दहुने अवस्थामा पुगेका थिए ।
तत्काल महामारी नियन्त्रणमा आए पनि कच्चा पदार्थ आयात गरेर जुत्ताचप्पल उत्पादन गर्न कम्तीमा ६ महिना लाग्न सक्दछ । स्थिति नियन्त्रणभन्दा जटिल बन्दै गएको वर्तमान अवस्थामा यो अवधि अझै लम्बिन सक्ने देखिन्छ ।