काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाईरसको संक्रमण फैलिन नदिन नेपालले गरेको लकडाउनको अवधिमा काठमाडौं उपत्यकाका सडकको स्वरुप फेरिन थालेको छ । लकडाउनले खाली सडकमा मार्किङ गर्ने काम भएपछि सडक चिटिक्क देखिन थालेको हो ।
काठमाडौं,भक्तपुर र ललितपुर गरी हालसम्म ४५ किमि सडक मार्किङ हुँदा उपत्यकाको सडकको स्वरुप फेरिन थालेको हो । उपत्यकामा करिब ७५ किमि सडक मार्किङ गर्ने लक्ष्य मध्ये ३० किमि गर्न बाँकी रहेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए । ‘अहिले लकडाउनकै बेलामा काठमाडौं उपत्यकामा करिव ४० किमि मार्किङ भयो । २५/३० किमि गर्न बाँकी छ’ उनले भने ।
त्यतिमात्र होइन, गौशाला, चाबहिल र नागढुंगादेखि नौबिसे सडक विस्तार र स्तरोन्नतिकोे काम समस्या नपर्ने गरी अनुमति मागिएको शर्माले बताए । दुई सडक लकडाउनकै बेला स्तरवृद्दि गर्न ठेकेदारलाई कामदारको व्यवस्था गरि साइटमै क्याम्प बनाएर र सुरक्षित तवरले काम गर्ने वातावरण भएमा अघि बढाइने उनको भनाइ छ ।
ती दुबै सडकको ठेक्का लागिसकेको छ । कामदारलाइ घर जान नदिने गरि क्याम्प बनाएर र कोरोनाविरुद्द सुरक्षित भएर काम अघि बढाउन ठेकेदार कम्पनीलाई आग्रह गरिएको र उनीहरुले पनि प्रयास गर्ने प्रतिक्रिया दिएको शर्मा बताउँछन् ।
सामान ढुवानी र अन्य कुरामा स्थानीय प्रशासनसँग अनुरोध गरिएको छ ।
त्यस्तै, लकडाउनका बेला निर्माणधीन ६० पुलको काम असार अघि नै सम्पन्न गर्नेगरी काम भएको विभागले जनाएको छ । निर्माणधीन १००० पुलमध्ये चालू आर्थिक बर्षमा सकिने निर्माणको अन्तिम चरणका पुलको काम भइरहेको हो ।
जुन पुल चालूआवमा सम्पन्न नभए आउँदो बर्खामा बाढीले क्षति पुर्याएर पुन निर्माण गर्नुपर्ने खालका छन । यता, लकडाउनले हुलाकी र मध्यपहाडी लोकमार्गको काम भने ठप्प हुन पुगेको विभागले जनाएको छ ।