काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा निकासी व्यापार २२.३५ प्रतिशतले बढेको छ । फागुनसम्म ७४ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु निकासी भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा ६१ अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु निकासी भएको थियो । गत वर्षको भन्दा चालु आर्थिक वर्षमा निकासी १३ अर्ब ६९ करोड रुपैयाँ बढेको छ ।
भारतले प्रशोधित पाम आयल आयातमा खुला गरेपछि नेपालको निकासी व्यापार बढेको हो । निकासी बढाउन पाम आयलको भूमिका महत्वपुर्ण रहेको छ । पाम आयल निकासी २४४ प्रतिशत बढेर १५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।
८ महिनामा भारत निकासी ३५.५ र अन्य मुलुकसंग १.१ प्रतिशत बढेको अर्थ मन्त्रालयले जनाएको छ । चीनतिरको निकासी भने १९.४ प्रतिशत घटेको छ । कोरोना भाइरस संक्रमणका कारण माघ १५ पछि चीनतिरका नाकाहरु बन्द भएकाले व्यापार प्रभावित भएको हो ।
चालु आर्थिक वर्षमा प्रशोधित पाम आयल, भटमासको तेल, ऊनी गलैचा, अलैची, जुटका कपडा लगायतका वस्तुको निकासी बढेको छ ।
यसबीचमा आयात २.६ प्रतिशत घटेर ९ खर्ब २४ अर्ब २४ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वस्तु आयात २३.७ प्रतिशत बढेर ९ खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ थियो । गत आर्थिक वर्षको तुलनामा चालु वर्षमा आयात २४ अर्ब ८७ करोड रुपैयाँ घटेको छ ।
फागुनसम्म भारतबाट हुने आयात ७.५ प्रतिशत घटेको छ । यस्तै चीन र अन्य तेस्रो मुलुकहरुबाट आयात क्रमश ५.५ र ६.८ प्रतिशत बढेको छ ।
८ महिनामा पेट्रोल, हवाइजाहाज, मलखाद र हेलिकप्टरलगायत वस्तुको आयात बढेको छ । डिजेल, एसएस विलेट, तयारी कपडा र एलपीजी ग्याँसको घटेको छ ।
व्यापार घाटा ३८ अर्ब ५६ करोड घट्यो
आयात कम भएपछि वस्तु व्यापार घाटा ४.३ प्रतिशत घटेर ८ खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा वस्तु व्यापार घाटा २४.४ प्रतिशत बढेर ८ खर्ब ८७ अर्ब ८९ करोड रुपैयाँ थियो ।
सरकारले महंगा सवारीसाधनलगायत अन्य केही वस्तु आयातमा प्रतिवन्ध लगाउँदा पनि आयात कम भएको हो । कोरोना भाइरस संक्रमण देखिएर सरकारले लकडाउन गरेपछि ५० हजार डलरमाथिका सवारीसाधान, छोकडा, सुपारी, मरिच, काजु र किसमिसलगायतका वस्तु आयातमा प्रतिवन्ध लगाएको छ ।
आयात कम र निकासी बढेपछि व्यापारमा केही सन्तुलन आउँदा मुलुकको चालुखाता घाटा ५० करोड रुपैयाँ घटेर १ खर्ब रुपैयाँमा सीमित भएको छ ।
फागुनसम्म राम्रो रहेकोमा वाह्य व्यापार कोरोनाको सन्त्रास बढेपछि चैतदेखि आयात र निर्यात व्यापार प्राय ठप्प अवस्थामा छ । पेट्रोलियम पदार्थ र केही अत्यावश्यक वस्तु मात्र आयात भएको छ ।