पोखरा । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउन तीन हप्ता नाघिसकेको छ । यसबीचमा सरकारले अत्यावश्यक वस्तु उत्पादन र वितरणमा रोक नलगाउने निर्णय गरे पनि उद्योगहरुमा कामदारको अभाव र उचित बजार व्यवस्थापन हुन नसक्दा अत्यावश्यक मानिने उत्पादनमा ह्रास आएको छ ।
पोखरा औद्योगिक क्षेत्रमा ७७ उद्योगहरु छन् । हालको अवस्थामा भने २१ वटा उद्योग मात्र सञ्चालित छन् । ति मध्ये १४ वटा उद्योग अनुमति लिएर सञ्चालन भएका हुन् । अन्य ७ वटा उद्योग भने कामदार त्यहीभित्र बस्ने भएकाले भित्रभित्र काम गरिरहेका छन् । अनुमति नलिइ सञ्चालित उद्योगमा फलामजन्य र ब्लक उद्योग रहेका छन् ।
सञ्चालित उद्योग पनि कामदारको अभाव र बजार व्यवस्थापनको समस्याले गर्दा उद्योग सञ्चालनमा कठिनाइ भएको सञ्चालक बताउँछन् । औद्योगिक क्षेत्र भित्र सञ्चालित ताजा फुड्स प्रा.लिका सञ्चालक विनोद शर्मा न्यौपानेले सामान उत्पादन र वितरणसम्मको स्पष्ट निर्देशिका सम्बन्धित निकायले नबनाउँदा उद्योग बन्द गर्नु परेको बताए ।
उनले भने “सुरक्षित भएर उद्योग सञ्चालन गर्नु मात्र भनेको छ, उद्योगमा कामदारदेखि उत्पादनलाई बजार हुँदै उपभोक्तासम्म पुर्याउने सुरक्षित उपायको बारेमा केही भनिएको छैन, यस्तो अवस्थामा कसरी उद्योग सञ्चालन गर्नु ?” उनले निकै अन्यौल रहेकाले हाल उद्योग बन्द गर्नुपरेको बताए ।
एनका अनुसार कतिपय वेकरी उद्योगले उत्पादन गरेको सामान बजारमा लैजाँदा समेत बाटोबाटोमा स्थानीयले बाँस लगायतका सामानले अवरोध सिर्जना गर्ने गरेकाले पनि अहिले सञ्चालन भएका वेकरी उद्योग पनि बन्द भएको जानकारी दिए ।
पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रबन्धक भूषणकुमार उपाध्यायले अहिले पानी, बिस्कुट, मसला, अक्सिजन, दूधडेरी सञ्चालमा रहेको र चाउचाउ उद्योग केही दिनपछि सञ्चालनमा आउने जानकारी दिए । उनले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार कामदारको सुरक्षा अपनाउन नसक्दा उद्योग सञ्चालमा कठिनाइ भएको बताए ।
‘उद्योगमा कार्यरत मजदुरको स्वास्थ्य सतर्कताका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध छैन, कामदार आफू असुरक्षित महसुस गरेर काम गर्न सक्दैनन्’ उनले थर्मल गन, पिपिइ, लगायतका आवश्यक स्वास्थ्य सामग्री खोजे पनि नपाएको बताए । औद्योगिक क्षेत्रको गेटमा एउटा ‘हेल्थ डेस्क’ आवश्यक रहेको र यस विषयमा सम्बन्धित निकायमा जानकारी गराए पनि व्यवस्था नभएको उनले बताए । ‘हालसञ्चालन भइरहेका उद्योगहरु निकै कठिन अवस्थामा भइरहेको र उद्योगबाट जम्मा २५ प्रतिशत मात्र उत्पादन भएको छ,’ उनले भने ।
त्यसैगरी हाल बन्द अवस्थामा रहेको रारा रम्बा लगायतका चाउचाउ उत्पादन गर्दै आएको हिमश्री फुड्सले वैशाख ७ गतेबाट सञ्चालन गर्ने सोच बनाएको प्रालिका जनरल म्यानेजर अमित थापाले जानकारी दिए । उनले पहिल्यै उत्पादित चाउचाउले अहिलेसम्म बजार व्यवस्थापन गरेकाले उद्योग बन्द गरेको र अब उद्योग सञ्चालनको तयारी गरेको बताए ।
‘सीमित कामदारबाट स्टक राखिएको सामग्रीबाट अहिले उत्पादन गर्ने तयारी भएको छ, हेरौं कहिलेसम्म चलाउन सक्छौ’ उनले भने । ‘हाल स्टक रहेको कच्चा पदार्थबाट १५ दिनको लागि मात्र उत्पादन गर्न सकिन्छ ।’
औद्योगिक क्षेत्र भित्र रहेको अर्को पोखरा नुडल्स पनि हाल बन्द रहेको छ ।