कोरोनाले ज्यानै लिन थालेपछि कामदार आउन छाडे, सडक निर्माण र विस्तारका काम ठप्प

account_box हरिप्रसाद शर्मा ,
प्रकाशित: २०७७ जेठ ४, आइतबार ,०७:३५:PM  
कोरोनाले ज्यानै लिन थालेपछि कामदार आउन छाडे, सडक निर्माण र विस्तारका काम ठप्प

काठमाडौं । कोरोना संक्रमणको कारण नेपालमा ज्यान गएपछि पूर्वाधार तथा निर्माण क्षेत्रमा सक्रिय कामदारहरु काममा जानै छाडेका छन् । लकडाउनमा गरिएको कडाईले पास पाउन कठिन भएको तथा संक्रमणका कारण दुई दिन दुई जनाको मृत्यू भएको खबरले कामदारहरु डराएका हुन् । लकडाउनमा सवारी साधन नचलेको मौका छोपेर सरकारले उपत्यकाका सडक विस्तार र निर्माण अघि बढाएको थियो ।

सडक मार्किङ गर्ने तथा कालोपत्रे गर्ने काम लकडाउनकै अवधिमा भएपनि कोरोनाको जोखिम बढ्न थालेपछि निर्माण व्यवसायी र कामदारलाइ फिल्डमा खटाउनै नसकिएको सडक विभागले जनाएको छ । 

निर्माण सामग्री आपूर्तिमा समस्या र जोखिमको अवस्था बढेकाले सवैजसो सडक निर्माण र विस्तारका काम ठप्प हुन थालेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । बाहिरबाट कामदार ल्याउँदा पनि स्थानीय बासिन्दाको विरोध र सवारी पासमा भएको कडाईले कामले गति लिन नसकेको उनको भनाई छ । ‘अब त काम ठप्प हुने स्थिति भयो । बाहिरबाट कामदार आउँदा समुदाय पनि डराउन थाल्यो । स्थानीयले पनि विरोध गर्न थाले । सवारी पासमा पनि जिल्ला प्रशासन कडाइ गर्न थाले’ उनले भने, ‘त्यसकारण जेठ १ गतेदेखि हामीले निर्माणको स्पीड म्यानटेन्ड गर्न सकेका छैनौं ।’ 

विभागका अनुसार लकडाउनको अवधिमा ३५ ओटा पुलको काम भएको छ । जसमध्ये ८ ओटा पुल लकडाउनकै अवधिमै सम्पन्न भएका छन् । काठमाडौं उपत्यकाको झन्डै ७५ किलोमिटर सडकको मार्किङ गर्ने काम सर्किएको छ । त्यसबाहेक गौशाला, चाबहिल र पुतलीसडक क्षेत्रमा सडक विस्तार कालोपत्रेको काम अघि बढेको थियो । तर, कोरोना संकमणको जोखिम बढेकाले त्यस क्षेत्रका काम सम्पन्न हुन भने सकेका छैनन् । चाबहिल गौशाला सडक खण्डमा निर्माण सामग्र्री ठेकेदारले ल्याउन नसकेको शर्माले बताए ।

पुतलीसडक क्षेत्रमा सडक छेउमा नाली राख्ने काम सम्पन्न भएपनि पिच गर्ने काम अधुरै छ । ठेकेदारले चापागाउँबाट अलकत्रा र निर्माण सामग्री ल्याउन नसकेको सडक विभागलाइ जानकारी दिएको छ । काठमाडौं उपत्यकाभित्रका सडक मात्र नभएर उपत्यका बाहिर निर्माणधीन ठूला सडक आयोजना ठप्प भएका छन् । खासगरी, हुलाकी राजमार्ग, पूर्व पश्चिम राजमार्ग, मध्यपहाडी राजमार्ग लगायतका गौरवका सडक परियोजना त नेपालमा कोरोना भाइरसको संकमण भित्रियता ठप्प प्रायः छन् ।   

 

हरिप्रसाद शर्मा

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पूर्वाधार बाट थप

Top