काठमाडौं । नेपाल राष्ट्र बैंकबाट पाउने पुनर्कर्जा सुविधा अब साना उद्योगीको पहुँचमा आएको छ । ठूला उद्योगी तथा राम्रो वासलात (ब्यालेन्ससिट) भएका व्यवसायीले मात्र पाउने पुनर्कर्जा अब साना तथा घरेलु उद्योगीले पनि पाउने भएका हुन ।
राष्ट्र बैंकले साना व्यवसायीलाई पनि लक्षित हुने गरी पुनर्कर्जामा सरलिकरण गरेको छ । राष्ट्र बैंकले साना तथा घरेलु उद्योगीलाई लक्षित गरेर पुनर्कर्जामा सरलिकरण गर्न लागेको प्रवत्ता डा. गुणाकर भट्टले बताए । उनले केही दिनभित्र केन्द्रीय बैंकले कार्यविधि सार्वजनिक गर्ने उनले जानकारी दिए ।
यस अघिको अप्ठयारो र झन्झटिलो प्रक्रियालाई समेत राष्ट्र बैंकले सरलीकृत गरेर साना तथा मध्यम खाले उद्योगी/व्यवसायीको पहुँचमा पुनर्कर्जा कोष पुर्याएको जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योगीको पहुँचमा पुनर्कर्जा आएको र यसले उनीहरुलाई ठूलो राहत पुर्याउने बताए ।
महासंघको तर्फबाट र व्यक्तिगत रुपमा आफूले पटक पटक साना उद्योगीको पहुँचमा पुनर्कर्जा हुनुपर्ने आवाज उठाएको र त्यसलाई सरकार तथा केन्द्रीय बैंकले मनन गरेर सोही अनुसार कार्यविधि बनाएको गोल्छाले जानकारी दिए ।
उनका अनुसार यस अघिको प्रक्रियालाई खारेज गरेर सरलीकृत गरेको छ । अब बैंकहरुले पुनर्कर्जाका लागि प्रक्रिया अघि बढाउन सक्ने भएका छन ।
यस अघिसम्म ठूला व्यवसायीले मात्रै पुनर्कर्जा सुविधा उपभोग गरिरहेका थिए । केन्द्रीय बैंकको कानूनअनुसार उद्योग व्यवसायीले १ वर्षसम्म सहुलियत दरमा यस्तो कर्जा लिन पाउँछन । यो सुविधा लिनेको ब्यालेन्ससिट राम्रो भएको र असल ऋणी हुनुपर्ने अवस्था छ ।
उद्योगीले अनुरोध गरेपछि सम्बन्धित बैंकबाट कर्जाका लागि केन्द्रीय बैंकमा सिफारिश हुँदै आएको छ । पुनर्कर्जा पाउन उद्योगी आफैले पनि निरन्तर फलोअप गर्नुपर्ने अवस्था थियो, त्यसलाई केन्द्रीय बैंकले अन्त्य गरेको गोल्छाले बताए । अब बैंकबाटै सम्पूर्ण प्रक्रिया अघि बढ्छ ।
पुनर्कर्जा जबसम्म साना र मध्यम व्यवसायीले पाउँदैनन्, तबसम्म यसको कुनै उपयोगिता छैन् । त्यही भएर महासंघले त्यस्ता व्यवसायीले पाउनुपर्छ भनेको हो । यसका सबै जोखिम वाणिज्य बैंककै छ ।
राष्ट्र बैंकले तोकेको सीमा भित्र रहेर साना उद्योगीले पुनर्कर्जा लिन सक्छन् । त्यसका लागि बैंक आफैले प्रक्रिया अघि बढाइदिने गरी कार्यविधि आएको र यो स्वागतयोग्य भएको गोल्छाले जानकारी दिए ।
केही दिनअघि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुनर्कर्जा सीमालाई ५० करोडबाट घटाएर १० करोड रुपैयाँमा झार्ने र साना उद्योगीको पहुँचमा ल्याउने बताएका थिए । सोही अनुसार १० करोडको सीमा भित्र ल्याइएको गोल्छाले जानकारी दिए ।
केन्द्रीय बैंकले पुनर्कर्जाको कार्यविधिलाई परिमार्जन गरेपछि साना तथा मझौला उद्योग, पर्यटन र कोरोना महामारी (कोभिड–१९) को प्रभाव अत्यधिक परेका क्षेत्रलाई ठूलो फाइदा पुग्ने महासंघको बुझाइ छ ।
यस्तो कर्जा प्रवाह गरेबापत बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट २ प्रतिशतमा कर्जा सुविधा पाउँछन् भने उनीहरुले ऋणीबाट बढीमा ५ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्था छ ।
केन्द्रीय बैंकका अनुसार हालसम्म १८ अर्ब रुपयाँ पुनर्कर्जा गएको छ । अझै ४२ अर्ब रुपैयाँ कोषमा रकम बाँकी छ । कोरोना महामारीले उद्योग व्यवसाय संकटमा पारेपछि सरकारले पुनर्कर्जा कोषको सीमा बढाएर १ खर्ब रुपैयाँ पुर्याउने घोषणा गरेको छ ।