बागलुङ बजारभित्र रहेको वीरेन्द्र ऐश्वर्य पार्कलाई ढल व्यवस्थापनको नाममा साँघुरो पारिदैं छ । बजारभित्रको सार्वजनिक खुल्ला स्थान रहेको पार्कमा लकडाउनको मौका छोपी साँघुरो बनाउने काम गरिएको हो ।
ढल व्यवस्थापन र सडक फराकिलो बनाउने भन्दै बागलुङ नगरपालिकाले पार्कलाई सानो बनाउन लागेको हो । नगरपालिकाले पार्कको पर्खाल तीन मिटरभित्र सारेर ढल व्यवस्थापनका लागि निर्माण कार्यसमेत थालेको छ ।
बागलुङ नगरपालिका १ बाङ्गेचौरदेखि पार्कसमेत जोडिएको वडा नम्बर २ को ट्राफिक चोकसम्म २० मिटर कायम गरि सडक फराकिलो बनाउनका लागि सडक क्षेत्राधिकारभित्रका संरचना हटाउन बागलुङ नगरपालिकाले २०७६ वैशाख ४ गते सुचना जारी गरेको थियो । एक करोड बजेट रहेको सो परियोजनामा केहि स्थानियहरुले विरोध गरेपछि नगरपालिकाले व्यक्तिहरुको घर जोगाएर सार्वजनिक पार्कलाई साँघुरो बनाउन लागेको हो । २०७६ बैशाखमै १५ दिनको समय दिएर सडक मापदण्ड मिच्ने घर टहरा हटाउन नगरपालिकाले निर्देशनसमेत दिएको थियो ।
मापदण्डमा पर्ने केहि घर नेकपाकै स्थानिय नेताको भएको हुनाले नगरपालिका सडक विस्तारको काम नगरेको भन्दै केहिले सुरुमा विरोधसमेत गरेका थिए । सडकको मापदण्डमा सञ्जयकुमार श्रेष्ठ, लालकुमार प्रधान, शेरबहादुर प्रधान, बाबुराम सापकोटा, धर्मकुमारी खड्का, लोककुमारी शर्मा, कल्याण श्रेष्ठ, उमेश केसी, यादव शर्मा, रामकुमारी राजभण्डारी, संजय श्रेष्ठ, टिकाराम पुन, इन्द्र थापा, कृपा राजभण्डारी, महेन्द्र आचार्य, बद्रीप्रसाद शर्मा, नुमाकुमारी थापा, बलबहादुर पुनको घर तथा टहरा पर्ने नगरपालिकाले सुचना प्रकाशित गरेको थियो ।
व्यक्तिको घर जोगाएर अहिले नगरपालिकाले पार्कको जग्गालाई भने कुनै नीतिगत निर्णय नै नगरि लकडाउनको मौकामा डोजर चलाएर काम थालेको हो ।
पार्कलाई साँघुरो बनाउने कामको स्थानियले विरोध सुरु गरेका छन् । स्थानियवासी हिमाल शर्माले नगरपालिकाले बजारभित्रको खुल्ला स्थान रहेको पार्कलाई साँधुरो बनाउने कामले स्थानियको मन दुखेको बताए । ‘पार्क हरियाली, सुन्दर र व्यवस्थित बनाउन नसक्ने तर अहिले पार्कभित्र डोजर चलाउने काम राम्रो होइन,’ उनले भने । नाली बनाउने हो भने पनि अन्डरग्राउण्ड गराउन सकिन्छ, त्यसवरिपरि घरहरु पनि छैनन् पार्कनजिक रहेको नाली जानकी केसीको घरबाट क्रस गरेर गएकोले नाली पनि आवश्यक नपर्ने उनले बताए ।
‘सडक विस्तारका लागि हाम्रो घर भत्काउन परेपनि हामी तयार छौं, स्थानिय पनि सहमत छन् तर उचित क्षतिपूर्ति दिनुपर्यो,’ उनले भने । नयाँ घर बनाउँदा नै बाटो मिचेका छन्, पुरानो घर भत्काउनका लागि कुनै समस्या नभएको उनले बताए ।
अर्का स्थानिय थरेन्द्र पौडेलले पुरै बागलुङ बजारभित्रको ढल व्यवस्थापनका लागि डिपिआर तयार हुन लागेकोले पार्कमा नाली बनाउन आवश्यक नभएको बताए । ‘ढल बनाए पनि फेरि अर्काे ढल बनाउन पर्छ तर अहिले पार्कलाई नै साँघुरो बनाइदै छ,’ उनले भने । नगरपालिकाले पार्क व्यवस्थापन गर्न सकेर पार्क मास्न खोजेको उनले बताए ।
त्यस्तै वडानं २ कै आशिष श्रेष्ठले सामाजिक सञ्जालमा पार्कमा डोजर लगाउने कामको विरोध गरेर धारणा राखेका छन् । वडा नं. २ कै वडा सदस्य अर्जुन घिमिरेले पाँच महिनाअघि नै फेसबुकमा धारणा राख्दै नगरपालिकाले अरु ठाउँमा बाटो फराकिलो बनाउने ठाउँ नपाएर पार्कलाई भत्काउन परेको हो भन्दै प्रश्न गरेका छन् ।
पार्कको पूर्वी क्षेत्रमा रहेको मालपोत र नापी कार्यालय भने सडक फराकिलो बनाउन आफ्नो पर्खाल भत्काउन नदिने जानकारी नगरपालिकालाई दिइसकेका छन् ।
व्यक्तिको घर र सरकारी कार्यालयको संरचना भत्काउन नसक्ने र पार्कलाई मात्र भत्काएर साँघुरो बनाएको भन्दै नगरपालिकाको आलोचना भएको हो ।
बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले नालीको पानी सडकमा आउने भएकाले त्यसको व्यवस्थापनका लागि पार्कको पर्खाल सार्ने लागिएको बताए । ‘ढल पार्कनजिकमै आएर व्यवस्थित छैन, त्यहि भएर त्यहाँ भत्काउन लागिएको हो,’ उनले भने । हाल रहेको माइक्रोकाउन्टर पनि भत्काएर त्यहाँ पनि व्यवस्थित ढल बनाउने काम हुने उनले बताए ।
बाङ्गेचौरदेखि पार्कसम्मको सडक विस्तारमा एक करोड रुपैयाँ थोरै भएकाले त्यो रकम अरु परियोजनामा प्रयोग भएको शर्माले बताए ।
२०३२ सालमा निर्माण भएको पार्क बागलुङ बजारभित्र रहेको सिमित सार्वजनिक खुल्ला स्थानमध्ये एक हो । बजारभित्र रहेको वीरेन्द्र ऐश्वर्य पार्क १३ वर्षअघि सुन्दर थियो । पार्कभित्र तत्कालिन राजा वीरेन्द्र र रानी ऐश्वर्यको प्रतिमा मात्र थिएन, सुन्दर फूलहरु, पानीको फोहोरा, हरियाली, खुल्ला वातावरण थियो । तर, १३ वर्षपछि पार्कको सौन्दर्य र चमक दुवै हराएको छ ।
२०६२÷२०६३ को जनआन्दोलनमा वीरेन्द्र र ऐश्वर्कको शालिक तोडफोड गरेपछि अव्यवस्थित बनेको पार्कलाई बागलुङ नगरपालिकाले व्यवस्थित, सुन्दर र हराभरा बनाउने भनेर पटक पटक घोषणा गरेपनि कहिल्यै सुधार भने गरेन ।