अहिलेको अवस्थामा विद्युतको महसुल बढाउने विषय सान्दर्भिक छैन । हामीले त उल्टै नेपाल विद्युत प्राधिकरणलाई अहिले लाग्ने महसुलमा ५० प्रतिशत छुट दिनुपर्छ भनेका छौं ।
होटल एउटा पर्यटन उद्योग हो । उद्योग विभागमा दर्ता भएका हुन्छौं । तर, प्राधिकरणले होटलहरुलाई बिजुली उद्योगको सरह दिएको छैन, हामीले बारम्बार मागिरहेका छौं ।
होटलले धेर बिजुली खपत गरेको हुन्छ, त्यसले हामीलाई पनि उद्योगले पाउने सरह विद्युत महशुल सुविधा पाउनु पर्छ । यसको लागि विद्युत नियमन आयोगले विशेष भूमिका निर्वाह गर्न आवश्यक छ । अहिले होेटलले सामान्य ग्राहकले प्रयोग गरेकै शुल्कमा उपभोग गर्न बाध्य भएको छ ।
हामी पनि ठूला ग्राहक भित्रै पर्छौ तर, प्राधिकरणले दिने सेवा सुविधा उपभोग गर्न पाएका छैनौं । त्यसैले हामीलाई पनि औधोगिक लाइन चाहिन्छ । होटल २ महिनादेखि बन्द छ । त्यो बेलाको डिमाण्ड शुल्क हटाउनु पर्छ ।
होटलहरुले ठूलो मात्रामा आयातित ग्यासहरुलाई प्रयोग गर्दै आएको छ । नेपालमा उत्पादन भएको बिजुली अब धेर हुने अवस्थामा छ ।
विदेशमा लगेर यहाँको बिजुली बेच्नु भन्दा यहाँ रहेका उद्योगधन्दाहरुलाई सहुलियत दरमा विद्युत उत्पादन गरेर ग्यासमा हुने खर्चलाई जोगाउन सकिन्छ । यसबाट ग्यासमा हुने लाखौंको खर्च प्राधिकरणले आम्दानी गर्न सक्छ ।
यदी विद्युत प्राधिकरणले विषेश प्याकेजमा बिजुली उपलब्ध गराउछ भने विद्युतीय चुल्हो प्रयोग गर्न तयार छौं । ग्यास भन्दा सस्तो हुनुपर्छ । त्यसका लागि हाम्रो ठूलै लगानी हुने भएकोले प्राधिकरणले बैंकहरुसँग समन्वय गरेर एउटा स्किम ल्याएमा हामी त्यहाँ सहभागी हुन तयार छौं ।
प्राधिकरणले २४ सै घण्टाको मुल्य एउटै लगाइरहेको छ । त्यसमा टाइम अफ द डे(टीओटी) भन्ने हुन्छ । त्यसमा इलेक्ट्रीक चलाउनु पर्ने, पानी तताउनेदेखि बढी विद्युत खपत हुने कामहरु राती १० बजेदेखी विहान ६ बजेसम्म गर्न सक्छौं ।
जुन बेला प्राधिकरणको विद्युत खपत मुलुक भर निकै कम हुने गरेको हुन्छ । त्यसका लागि हामीलाई सस्तो मुल्य दिनु पर्छ ।
(शाह, होटल एसोसिएसन अफ नेपालका प्रथम उपाध्यक्ष हुन)