काठमाडौं । कोरोना भाइरस महामारीका कारण चालु आर्थिक वर्षमा सार्वजनिक तथा निजी क्षेत्रबाट हुने लगानी ३.४ प्रतिशतले संकुचन आएको छ । चालु आर्थिक वर्षमा सार्वजनिक र निजी क्षेत्रबाट गरी १८ खर्ब ८९ अर्ब २६ करोड रुपैयाँ मात्र लगानी आउने आँकलन गरिएको छ । गत वर्ष यस्तो लगानी १९.२ प्रतिशतले वृद्धि भएको थियो ।
सरकारले सार्वजनिक गरेको सर्वेक्षण २०७६०/७७ ले कोरोना भाइरस महामारी (कोभिड–१९) नियन्त्रणका लागि चालिएको बन्दाबन्दी (लकडाउन) आदेशका कारण सार्वजनिक र निजी लगानीमा संकुचन आएको उल्लेख छ । अघिल्लो वर्ष यस्तो लगानी १९.२ प्रतिशत वृद्धि भएको थियो ।सर्वेक्षणका अनुसार चालु आर्थिक वर्षमा सरकारको खर्च १३ खर्ब ८५ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादन (जीडीपी) २.७ प्रतिशत हुने अनुमान गरिएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा ८.५ प्रतिशतको फराकिलो आर्थिक वृद्धिदर गर्ने लक्ष्य राखेको थियो । कोभिड–१९ को महामारीले पर्यटन, व्यापार, औद्योगिक, उपभोग तथा आपूर्ति श्रृंखलामा ठुलो असर परेपछि यसको असर आर्थिक विस्तारमा परेको सर्वैक्षणमा उल्लेख गरिएको छ ।
केन्द्रीय तथ्यांक विभागले जेठदेखि आर्थिक क्रियाकलाप सुचारू भएमा आर्थिक वृद्धि २.७ प्रतिशत कायम रहने र यदी लकडाउन जारी रहेमा अझ घट्ने अनुमान गरेको छ । लकडाउन जारी रहेकाले विभागले आँकलन गरेको जीडीपी लक्ष्य हासिल नहुने देखिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको अर्थतन्त्र विस्तार खुम्चेर १ प्रतिशतमा झरेको प्रतिवेदन सार्वजनि गरको छ ।
आर्थिक वृद्धि ऋणात्मक हुने अवस्थामा पुग्न लागेको अर्थशास्त्रीहरुको भनाई छ । २.७ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएमा जीडीपीको आकार ३७ खर्ब ६७ अर्ब रुपैयाँको हुनेछ । घट्ने भएकाले यो भन्दा कम हुने संभावना छ ।
यसैगरी कुल राष्ट्रिय वचतमा अघिल्लो वर्षको तुलनामा सामान्य वृद्धि भएको छ । कुल राष्ट्रिय वचत १७ अर्ब ३३ अर्ब रुपैयाँ रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
चालु आर्थिक वर्षमा लगानी बोर्डको कार्यालयबाट मात्रै १ खर्ब ५५ अर्ब रुपैयाँको लगानी स्वीकृत भएको छ । यस्तै उद्योग विभागबाट १० अर्ब गरी फागुनसम्म कुल १ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले फागुन अघिसम्म अर्थतन्त्रका सबै परिसूचक मजबुत रहे पनि चैतदेखि कोरोना भाइरसको महामारीका कारण उत्पन्न परिवेशले आर्थिक विस्तारमा धक्का लागेको जानकारी दिएका छन ।