काठमाडौं । कोरोना महामारी रोक्न सरकारले गरेको बन्दाबन्दी (लकडाउन) का कारण चालु आर्थिक वर्ष ०७६/०७७ को बजेटमा विनियोजन गरिएको मध्ये ७० प्रतिशत मात्र खर्च हुने भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षमा १० खर्ब ७३ अर्ब ३५ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमान पेश गरेका छन । लकडाउनका कारण खर्च हुन नसकेपछि उनले दोस्रो पटक संशोधित अनुमान सार्वजनिक गरेका हुन ।
पुँजीगत खर्च र राजश्व परिचालन लक्ष्य भन्दा कम भएपछि संशोधित अनुमान घटाएको अर्थमन्त्री खतिवडाले स्पष्ट पारेका छन । उनका अनुसार कुल विनियोजन मध्ये चालुतर्फ ७३.३, पुँजीगत ५८.६ र वित्तीय व्यवस्थापन ७८.८ प्रतिशत खर्च हुने अनुमान छ ।
चालु आर्थिक वर्ष सकिन अब डेढ महिना मात्र बाँकी छ । यस्तै राजश्व संकलन लक्ष्यको ७४.४ प्रतिशत अर्थात ८ खर्ब २७ अर्ब रुपैयाँ हुने अनुमान छ । हालसम्म ६ खर्ब रुपैयाँ हारहारीमा मात्र राजश्व संकलन भएको छ ।
यसैगरी वैदेशिक सहायतातर्फ अनुदान ३२ अर्ब र ऋण १ खर्ब २१ अर्ब गरी कुल १ खर्ब ५३ अर्ब रुपैयाँ मात्र परिचालन हुने अनुमान सरकारले गरेको छ । यस्तै आन्तरिक ऋण १ खर्ब ९३ अर्ब रुपैयाँ हुने अनुमान छ ।
चालु आर्थिक वर्षमा सरकारले १५ खर्ब ३२ अर्ब ९४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षको अद्र्यवार्षिक समीक्षामा बजेट खर्च गर्न नसक्ने अवस्था आएपछि सरकारले घटाएर ९० प्रतिशतमा झारेको थियो ।
अद्र्यवार्षिक समीक्षामा सरकारले १३ खर्ब ८५ अर्ब ९६ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको थियो । कोरोना महामारी नियन्त्रणका लागि चैत ११ गतेपछि जारी लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएपछि अर्थमन्त्री खतिवडाले पुनः दोस्रो पटक बजेट खर्चको संशोधन गरेका हुन ।
अर्धवार्षिक समीक्षाअनुसार चालुतर्फ ९ खर्ब ४ अर्ब ४६ करोड अर्थात ९४.५ प्रतिशत पुँजीगत ३ खर्ब २६ अर्ब ८१ करोड अर्थात ८० र वित्तीय व्यवस्थापनमा १ खर्ब ५४ अर्ब ६९ करोड रुपैयाँ अर्थात ९२.२ प्रतिशत खर्च हुने संशोधन अनुमान गरिएको थियो