काठमाडौं । नेपालमा शनिबार कोरोना संक्रमितको संख्या १८९ जना थपिएका छन । यो समेत गरी नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढेर १ हजार ४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । शनिबार मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या १ हजार ४०१ पुगेको जानकारी दिए ।
हालसम्म २१९ जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १३ जना घरमा फर्केका हुन् । बुढानिलकण्ठ र टोखाका २ जना टेकु अस्पतालबाट, ९ जना बलम्बु अस्पतालबाट, अछामका १ जना, रुकुमका १ जना डिस्चार्ज भएका हुन् ।
हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी ६ जनाको मृत्यु भएको छ ।
क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १० हजार ८८ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार १७६ जना रहेको प्रवत्ता डा. देवकोटाले जानकारी दिए।
मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ७ हजार ५५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ६६ हजार ७ सय २९ परीक्षणहरु गरिएका छन् ।