काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीहरुको संख्या १२१ पुगेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएईमा १ जना, युकेमा १ जना १, अमेरिकामा १ जना, बहराइनमा २ जना, कुवेतमा १ जना र साउदी अरबमा १ जना नेपालीको ज्यान गएको हो ।
संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६६ जना गैरआवासीय नेपालको मृत्यु भएको छ । समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १९ जना नेपालीको निधन भएको छ ।
अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १७ पुगेको छ, यस्तै साउदी अरबमा ८ जना, बहराइनमा ३ जना, कुवेतमा २ जना, कतारमा १ जना, आयरल्याण्डमा १ जना, जापानमा १ जना, टर्र्कीमा १ जना, नेदरल्याण्डस्मा १ जना, र स्वीडेनमा १ जनाको मृत्यु भएको छ ।
संयोजक डा.सापकोटाका अनुसार नेपाल बाहेक १४ हजार ४२५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।
स्वास्थ्य समितिका अनुसार कतार, अमेरिका, युएई, युके, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, प्रोतुगल, क्यानाडा, आयरल्याण्ड, माल्दिभ्स्, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जिमय, स्वीड्रल्याण्ड, फिनल्याण्ड, जर्मनी, साईप्रस, न्यूजील्याण्ड, हङ्गकंङ्ग, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमार, रोमानिया, स्वीडेन, नेदरल्याण्ड लगायतका ३४ देशका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।
संक्रमितमध्ये ४ हजार ५०० भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको बताएको सापकोटाले जानकारी दिए । यो साता डनमार्क र टर्कीमा नेपालीमा नयाँ संक्रमण देखिएको हो ।
एनआरएनएले सहजीकरण गर्ने
यसैबीच विदेशस्थित नेपाली फर्काउन संघले सरकारलाई सघाउने सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णयको गरेको गैरआवासीय नेपाली संघले स्वागत गरेको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारको निर्णयको स्वागत गर्र्दै प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गरका छन । उनले अप्ठ्यारोमा परेका नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल फर्काउन गैरआवासीय नेपाली संघ सहजीकरणका लागि तत्पर रहेको बताए ।
यसैबीच गैरआवासीय नेपाली संघले शनिवार आफ्ना राष्ट्रिय समन्वय परिषदहरुसँग छुट्टै छलफल गरेको छ । विश्वभर छरिएका ८० भन्दा बढी शाखाहरुमा कोभिड भाइरसले पारेको प्रभाव, राहत र उद्धारको बारेमा राष्ट्रिय समन्वय परिषदसँग छलफल गरिएको संघका महासचिव डा। हेमराज शर्माले जानकारी दिए । छलफल मध्यपूर्वमा रहेका श्रमिकहरुको समस्याको बारेमा केन्द्रीत भएको संघले जनाएको छ ।
बैठकमा करिब तीन दर्जनभन्दा बढी देशस्थित राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुले आ–आफ्ना देशमा रहेका नेपालीका समस्याको बारेमा भनाइहरु राखेका थिए ।