काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संगठनहरुले बन्दाबन्दी (लकडाउन) लाई खुकुलो बनाउनु पर्ने माग अघि सारेका छन् ।
लकडाउनले व्यापार व्यवसायनै चौपट भएको भन्दै कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिलाई विभिन्न समुहमा वर्गिकरण गरी खुकुलो बनाउन सुझाव दिएका हुन् ।
देशका विभिन्न भागमा उद्योगी व्यवसायीहरुले लकडाउनको उलंघन गर्दै व्यापार व्यवसायलाई अगाडी बढाउने निर्णय गरिरहेको बेला उच्च स्तरीय समितिले विभिन्न व्यवसायिक छाता संगठनहरुलाई बोलाएर उनीहरुबाट सुझाव लिएको हो ।
उद्योगी व्यवसायीहरुको छाता संगठनहरुले संक्रमणको जोखिम हेरेर रेड, ग्रिन र एल्लो जोन निर्धारण गरेर लकडाउन खुकुलो बनाउन सुझाव दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जोखिमको तह र क्षेत्रलाई वर्गीकरण गरि विस्तारै लकडाउन खुकुलो बनाउदै अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरिन । लामो समयसम्म लकडाउन हुँदा व्यवसायनै धरासायी बनेकोले सरकारले यस तर्फ तत्कालै सोच्न आवश्यक रहेको बताइन ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अहिलेसम्म सरकारको कुरा मानेर व्यवसायीहरुले आफ्नो व्यवसाय बन्द गरिरहेको बताउदै अब धैर्यताको बाँध फुट्न लागेको बताए ।
सरकारले ४२ प्रकारका उद्योग सञ्चाल खुला गरे पनि आवश्यक पास उपलब्ध नहुनु, राजधानी बाहिर गएका कामदार फर्कने व्यवस्थाको साथै उत्पादन बिक्रीका लागि बजार बन्द हुँदा वातावरण नभएको उनको भनाई छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले लकडाउन थपेर मात्र समस्याको समधान नहुने भन्दै विश्व स्वास्थ्य संगठनले दिएको सुझाव अनुसार सामाजिक दुरी कायम गरी आवश्यक स्वास्थ्य सर्तकता अपनाएर उद्योग व्यवसाय खुलाउने वातावरण मिलाइदिन आग्रह गरे ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले कोरोनाको संक्रमण लामो समयसम्म रहने हुँदा अब लकडाउनलाई केही खुकुलो बनाउँदै उच्च सतर्कता अपनाई नदीजन्य र अन्य निर्माण सामाग्री सहज रुपमा उपलब्ध हुनुपर्ने बताए ।
उद्योगी व्यवसायीहरुको छाता संगठनका प्रतिनिधिहरुको सुझाव सुनेपछि उच्च स्तरीय समन्वय समितिका संयोजक एवंम उपप्रधानमन्त्री ईश्वर पोखरेलले लकडाउन खुकुलो बनाउने विषयमा सकरात्मक प्रतिक्रिया दिएका छन् ।
उनले व्यवसायीहरुले राखेको कुरा जायज भएको भन्दै सम्बन्धित निकायहरुसँग छलफल गरी मन्त्रीपरिषदबाट निर्णय लिने बताएका छन् ।