काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले स्टिल उद्योगको नमूना संकलन गर्ने भएको छ । स्टिल उद्योगीले रडको गुणस्तर बिगारेको वा नेपाल गुणस्तरअनुसार नबनाएको हुनसक्ने आशंकामा नमूना संकलनको तयारी गरेको हो ।
केही समयअघि सिमेन्टको नमूना संकलन गरेर परीक्षण गरिरहेको विभागले अब रडको नमूना संकलन गर्न लागेको हो । ‘अहिले संकलित सिमेन्टका नमूना परीक्षण गर्ने कार्य भइरहेको छ,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘अब स्टिलको नमूना पनि संकलन गर्छौ ।’
विभागले देश पूर्ण रुपमा लकडाउन रहेकै बेला देशभरका विभिन्न सिमेन्ट उद्योगबाट नमूना संकलन गरेको थियो । त्यही नमूनालाई अहिले धमाधम परीक्षण भइरहेको छ ।
त्यसैगरी, विभागले देशभर प्राविधिक खटाएर नमूना संकलन गर्ने तयारी पनि गरेको छ । अहिले विकास निर्माण कार्य भइ रहेको र लकडाउनका कारण उनीहरुले के कस्तो गुणस्तर कायम गरेर रड बनाइरहेको भन्ने जानकारी लिन पनि नमूना संकलन गर्न लागिएको विभागले जनाएको छ ।
‘हामीले हरेक हप्ताजस्तो सिमेन्ट, स्टिललगायतका वस्तुको नमूना संकलन गर्ने गरेका थियौं,’ उनले भने, ‘तर, लकडाउनका कारण दैनिकी फेरिकाले पहिला जसरी नै कार्य गर्न सकिएन । तैपनि विभागले सुरक्षा सर्तकता अपनाएर कार्य गरिरहेको छ ।’
‘हामीसँग ६२ ओटा प्रडक्ट छन्,’ उनले भने, ‘क्रमश सबैको नमूना लिन्छौ । परीक्षण गर्छौ । गुणस्तरमा कम्प्रमाइज्ड गरेको फेला परे कानुन अनुसार कारबाही गर्छाै ।’
घट्न थाल्यो सिमेन्टको मूल्य
केही समय अघि बोरामै १० देखि २० रुपैयाँ सिमेन्टको मूल्य बढाएका व्यापारीले पुन मूल्य घटाएका छन् । बजारमा सिमेन्टको माग ह्वात्तै घटेपछि उनीहरुले पुन मूल्य घटाएका हुन् ।
सिमेन्ट उद्योगीले धमाधम मूल्य बढाउँदा केही उद्योगीले बढेको मूल्य केही दिन पनि नटिक्ने थाहा पाएपछि मूल्य बढाएका थिएनन् । ‘बढेको मूल्य धेरै दिन टिक्दैन भन्ने पहिल्यै थाहा थियो,’ एक उद्योगीले भने, ‘त्यही भएर हामीले मूल्य बढाएनौ । अहिले फेरी पुरानै मूल्यमा सिमेन्ट बेच्न थालिसकेका छन् ।
अब सिमेन्टको सिजन विस्तारै कम हुँदै जाने भएकाले मूल्य पनि ओरालो लाग्न थालेको सरकारी अधिकारीहरु बताउँछन् । पानी पर्ने बेलामा विकास निर्माणका कार्य ठप्प हुन्छ । विकास निर्माणका कार्य नहुने वित्तिकै सिमेन्टको मूल्य ओरालो लाग्न सुरु हुने उनीहरुको भनाइ छ ।