काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आइतबारको पदाधिकारी बैठकले गरेको साउनको अन्तिमसाता निर्वाचन गर्ने निर्णयलाई सोमबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको छ । महासंघको वार्षिक साधारणसभा र निर्वाचन आगामी २५ र २६ गते हुने भएको छ । महासंघको विधानअनुसार पदाधिकारी बैठकले गरेका निर्णयलाई कार्यसमिति बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ ।
गत चैत २८ गते तोकिएको महासंघको साधारणसभासहितको निर्वाचन कोभिड १९ का कारण सरकारले घोषणा गरेको लकडाउनका कारण स्थगित भएको थियो । पछिल्लो पटक सरकारले लकडाउनलाई विस्तारै खुलाउँदै जाने रणनीति लिएअनुसार महासंघको पनि साधारण सभाको मिति तय भएको हो ।
यसअघि महासंघमा निर्वाचनको मितिलाई लिएर पदाधिकारी र कार्यसमितिका सदस्यबीच नै मतभेद थियो ।
सोमबार बसेको कार्यसमिति बैठकले महासंघको पूर्व अध्यक्ष चण्डीराज ढकालविरुद्ध यसअघि पदाधिकारी बैठकले गरिएको भनिएको खेद प्रस्तावमा कुनै पनि छलफल भएन । ढकालले महासंघका अध्यक्ष भवानी राणाविरुद्ध अभिव्यक्ती दिएको भन्दै गत जेठ २३ गते खेद प्रस्ताव पारित गरिएको थियो ।
तर, आइतबार बसेको पदाधिकारी बैठकले सबै पदाधिकारीले भए गरेका गल्तीहरु आत्मालोचना गरेर विवाद नल्याउने सहमति भएपछि ढकालविरुभको खेदप्रस्तावको एजेन्डा सोमबारको कार्यसमिति बैठकमा प्रवेश नै गराएन । महासंघलाई अब कुनै पनि विवादमा नलैजाने र अहिलेसम्म भएका सबैका गल्तीलाई सबैले आत्माआलोचना गर्ने आइतबार पदाधिकारीविच सहमति भएको थियो ।
‘पदाधिकारी बैठकले गरेका सबै निर्णयहरु कार्यसमिति बैठकले अनुमोदन गर्नुपर्छ,’ महासंघका एक सदस्यले बताए ।
‘जसरी आइतबारको पदाधिकारी बैठकले निर्वाचन मिति प्रस्ताव गरेर सोमबारको कार्यसमिति बैठकल अनुमोदन गर्यो त्यसैगरि खेदप्रस्तावको प्रस्ताव पनि आउनुपथ्र्यो तर आएन,’ उनले भने । चण्डीविरुद्धको खेद प्रस्तावको विषयमा सोमबार कुनै पनि छलफल र एजेन्डा नै आएन । अब यसलाई अनुमोदन भएको भन्न मिल्दैन किनकी हामीसँग माइन्यूट हुँदैन ।
कार्यसमिति बैठकले निर्वाचनको मितिसम्मका लागि काम गर्नका लागि बाधा अड्काउ फुकाउ गर्ने पनि निर्णय गरेको छ । त्यस्तै कार्यसमितिको बैठकका विषयमा १५ दिनको सुचनालाई ७ दिन र पदाधिकारी बैठकको सुचनालाई ३ दिनमा गर्ने पनि निर्णय गरेको छ ।