काठमाडौं । निजी लगानीमा निर्माण भएको सिंगटी जलविद्युत आयोजनाबाट परीक्षण विद्युत उत्पादन सुरु भएको छ । जेठको अन्तिममा आयोजना सम्पन्न भएको हो । आयोजनाले मंगलबारदेखि परीक्षण उत्पादन सुरु गरेको हो ।
परीक्षण उत्पादन सफल भएपछि व्यवसायिक रुपमा नेपाल विद्युत प्राधिकरणलाई बिजुली बिक्री सुरु हुने छ । १५ दिन परीक्षणकाल रहने छ । सोमबारदेखि परीक्षण उत्पादन सुरु गरेको सिंगटी हाइड्रो लिमिटेडका अध्यक्ष बटु लामिछानेले बताए ।
उनले ६ किलोमिटर लामो सुरुङ्गमार्गसहित आयोजनको काम साढे ३ बर्षमा सम्पन्न गर्नु आफैमा ठूलो चुनौती भएको बताए ।
भारतको कोलाकातामा आएको आँधीले मेशिनरी सामानमा क्षति हुनुका साथै ४ महिना सिङटीखोलामा आएको बाढी तथा पहिरोले ५ महिना र कोभिड महामारीले ५ महिना गरी १४ महिना आयोजनाको काममा ढिला भएको लामिछानेले बताए ।
आयोजना चालु आर्थिक वर्षभित्र सक्ने लक्ष्य लिएको थियो । सरकारले प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई निर्माण गर्न दिएको हो ।
आयोजना दोलखाको बिगु तथा कालिन्चोक गाउँपालिकामा पर्छ । आयोजनाको हेडवक्र्स, इन्टेक, बालुवा थिग्रयाउने पोखरी, हेडपोन, बाँधमा पानी भर्दा परीक्षण सफल भएको थियो ।
आयोजनाको प्रभावित क्षेत्र साविकको बाबरे सहित लामिडाँडा, खोपाचागु, लादुक र चिलंखा साविकका गाविस पर्दछन । बाबरे र चिलंखाको बीचमा सोरुङ खोलामा इन्टेक र डिस्याण्डर बनाएर आयोजनाको सुरुङ निर्माण गरी लामिडाँडा ७ को जुरेपानीमा सर्जट्याक निर्माण गरेको छ ।
त्यसपछि ९५० मिटर पेनस्टकमार्फत लामिडाँकै शिरिसघारीमा रहेको विद्युतगृहमा पानी खसाली उत्पादन हुने छ ।
विद्युतगृहमा १२.५ मेगावाट क्षमताका २ युनिट राखेर विद्युत उत्पादन गरिएको छ। आयोजनाबाट उत्पादन हुने प्राधिकरणले निर्माण गरिरहेको सिंगटी सबस्टेसनमा लगेर जोडिनेछ । आयोजनाको जडित क्षमता २५ मेगावाट छ ।
आयोजना निर्माणमा ४ अर्ब ६३ करोड रुपैयाँ खर्च भएको छ छ । आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा बैंकहरुले ३ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेका छन । यस्तै १ अर्ब ४५ करोड स्वपूँजी (इक्विटी) लगानी छ ।
सिभिल बैंकको अगुवाइमा सेञ्चुरी कमर्शियल बैंक, प्रभु बैंक,सिद्धार्थ बैंक, कुमारी बैंक, मेगा बैंक, ग्लोबल आईएमई बैंक, देव बिकास बैंक, लुम्बिनी बिकास बैंक र महालक्ष्मी बिकास बैंकले आयोजनामा ऋण लगानी गरेका छन ।
आयोजनाको सर्फेस सिभिलको काम रामेछाप शेर्पा कन्सट्रक्सन जेभी, अन्डरग्राउन्ड टनेलको आरजे सूर्या जेभी, हाइड्रो मेकानिकलको काम क्रिम हाइड्रो तथा इलेक्ट्रो मेकानिकलको काम चिनियाँ कम्पनी क्विङकाङ हाइड्रो जेनेरेटिङ इलेक्ट्रिक लिमिटेडले गरेका हुन ।
सिंगटी हाईड्रो ईनर्जी लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । सिंगटीले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता रहेको छ । कम्पनीले तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।