काठमाडौं । सरकारले तीन महिनापछि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृती खुला गरेको छ । कोभिड–१९ को प्रभाव नेपालमा उच्चविन्दुमा पुगिरहेको बेला सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहत रहेको वैदेशिक रोजगार व्यवस्थापन शाखाले श्रम, स्वीकृती खुलाएको हो ।
मन्त्रिपरिषदको असार १५ गतेको निर्णय अनुुुसार व्यवस्थापन शाखाले मंगलबारबाट श्रम स्वीकृती खुला गरेको शाखा अधिकृत जमुना काफ्लेले जानकारी दिए । तत्कालका लागि विदामा नेपालमा आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड—१९ को परीक्षण र स्वास्थ्य सम्बन्धित प्रोटोकलको पालना गरी वैदेशिक रोजगारीमा जान दिने बताइएको छ ।
यस्तै, पूर्वको करार अवधि समाप्त भइ पुनः करार नविकरण गरेका र भिषाको समेत म्याद थप भएका व्यक्तिले आवश्यक कागजात सहित निवदेन दिएमा स्वास्थ्य परीक्षण र स्वास्थ्य सम्वन्धित प्रोटोकल समेतको आधारमा पुनः श्रम स्वीकृती जारी गर्ने उल्लेख छ ।
श्रम स्वीकृती खुला गरेपनि सम्बन्धित मुलुकमा कसरी जाने भनेर सरकारले कुनै निर्णय गरेको छैन । साउन ६ गतेसम्म अन्तर्राष्ट्रिउ उडानहरु बन्द गरिएको छ । विदेशमा पनि कोभिढ १९ को प्रभाव रहिरहेकोले श्रम स्वीकृती खुलेपनि जाने र पठाउने विषयमा अन्यौलता रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेको भनाई छ ।
उनले व्यवसायी र श्रमिक भन्दा पहिला सरकार पहिला पठाउन तयार हुनुपर्ने र गन्तव्य मुलुकहरुमा जाने वातावरण मिलाउन आवश्यक रहेको उनको भनाई छ । गन्तव्य मुलुकले श्रमिक पठाउनु नभनेको र मागपत्र समेत नआएकोले हतारमा श्रम स्वीकृती खुलेर मात्र नहुने उनले बताए ।
अहिले मलेसिया सहित खाडी मुलुकमा कोभिडको प्रभाव कम भएपनि उनिहरुले श्रमिकलाई कहिलेबाट लिने/नलिने भन्ने विषयमा कुनै निर्णय गरिसकेको छैन ।
सरकारले कोभिडको असर विश्वव्यापी रुपमा परेको भन्दै २०७६ चैत १ गते अनिश्चीतकालका लागि श्रम स्वीकृती बन्द गरेको थियो ।